काठमाडौं - अहिले विवाहित दम्पतिका लागि निःसन्तान एक मुख्य समस्या हो। अस्वस्थकर र निष्क्रिय जीवनशैलीले निःसन्तानको समस्या बढाउँदै लगेको छ।
कुनै पनि विवाहित दम्पत्तिले एक वर्षसम्म सन्तानको प्रयास गरेको छ, तर बच्चा बसिरहेको छैन भने त्यसलाई निःसन्तानको समस्या भनिन्छ। निःसन्तानको समस्या हुनुमा महिला र पुरुष दुवै जिम्मेवार हुन सक्छन्। समयमै समस्या पत्ता लगाएर उपचारमा जान सके निःसन्तानको समस्याबाट जोगिन सकिन्छ।
होप फर्टिलिटी एण्ड डायग्नोष्टिक सेन्टरको निःसन्तान सम्बन्धी समस्या तथा रोग विशेषज्ञ डा स्वस्ती शर्मासँग हामीले यही विषयमा केन्द्रीत रही कुराकानी गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छः
निःसन्तान समस्या भनेको के हो?
– कुनै पनि विवाहित दम्पत्तिले एक वर्षसम्म प्रयास गर्दा पनि सन्तान नबस्ने समस्यालाई निःसन्तान भनिन्छ।
– ३५ वर्षभन्दा माथिका महिलाले नियमित यौन सम्पर्क गर्दा पनि ६ महिनासम्म सन्तान नभए त्यसलाई पनि निःसन्तान भनिन्छ।
निःसन्तानको समस्या के कारणले हुन्छ?
– निःसन्तानको समस्या महिला र पुरुष दुवैमा हुन्छ।
– महिलामा पाठेघरको मुखमा घाउँ हुने, मासु पलाएको, धेरै सेतो पानी बग्ने, विभिन्न संक्रमणका कारण निःसन्तानको समस्या हुन सक्छ।
– नली ब्लक भए, डिम्बाशयमा समस्या भएपनि निःसन्तानको समस्या हुन्छ।
– हर्मोनल गडबडी, अण्डा नबन्ने समस्याका कारण पनि हुन्छ।
– पाठेघरको राम्रोसँग विकास नभएको, जालो पलाएको, गर्भपतन गराएकोमा पाठेघर टाँसिने जस्ता समस्याले पनि सन्तानमा अवरोध हुन्छ।
– पुरुष शुक्रकिटको मात्रामा कमी आउनु, गति राम्रो नहुनु, बनोट राम्रो नहुनु कारण हुन्छन्।
– बच्चामा हुने हाँडे रोगका कारण अण्डकोष सुकेर जाने भएकाले शुक्रकिट नबन्ने समस्या हुन्छ।
– जन्मजात नै अण्डकोष आफ्नो ठाउँमा नबसी पेटमा बस्दा पनि शुक्रकिटमा समस्या आउँछ।
निःसन्तानको समस्या बढी कसलाई देखिन्छ?
– भविष्यमा केन्द्रित भई काममा निकै व्यस्त रहने महिलाहरुमा निःसन्तानको समस्या बढी देखिन्छ।
– ढिला उमेरमा विवाह गर्दा पनि निसन्तानको समस्या देखिने गरेको छ।
– रक्सी चुरोटको अत्यधिक प्रयोग गर्ने, तनावपूर्ण वातावरणमा काम गर्ने र कडा व्यायाम गर्ने पुरुषमा पनि निःसन्तानको समस्या देखिन्छ।
– विदेशमा काम गर्न गएका पुरुषहरुमा शुक्रकिटको समस्या देखिने गरेको छ।
नेपालमा निःसन्तानको समस्याको अवस्था के पाउनु भएको छ?
– नेपालमा निःसन्तानको समस्या बढ्दै गएको छ।
– समस्यासँगै मानिसहरुमा जनचेतनाको स्तर पनि विस्तारै बढ्दै गएको छ।
– अस्वस्थकर जीवनशैली, ढिलो विवाह, श्रीमान श्रीमती ढाढा रहनुले पनि निःसन्तानको समस्यालाई बढाउँदै लगेको छ।
निःसन्तानको उपचार के के छन्?
– सबै किसिमको निःसन्तानको उपचार नेपालमै संभव छ।
– हर्मोनको गडबडी, अण्डाको समस्या, पाठेघरको खराबीदेखि उनीहरुको समस्या अनुसार उपचार हुन्छ।
– शुक्रकिटको जाँचदेखि अण्डकोषको अल्ट्रासाउण्ड गर्ने सबै सेवा र उपचार छन्।
– कुनै बेला शुक्रकिट आउने नली ब्लक हुँदा पनि समस्या हुन्छ। ब्लक भएको उक्त नली शल्यक्रिया मार्फत उपचार गर्न सकिन्छ।
निःसन्तानको समस्याबाट कसरी जोगिन सकिन्छ?
– निःसन्तानको समस्याबाट जोगिन स्वस्थकर जीवनशैली अपनाउनु सबैभन्दा महत्वपूर्ण हुन्छ।
– खानपिनसँगै राति सुत्ने र बिहान उठ्ने समयको तालमेल मिलाउनु पर्छ।
– धेरै तनावपूर्ण वातावरणमा काम गर्नु हुँदैन।
– विवाहित महिलाले २५ वर्षदेखि सन्तानको योजना बनाउनु आवश्यक छ।
– अहिले अण्डा फ्रिजिङ्ग गरेर राख्ने प्रविधिको सुविधा पनि छ। यसले ढिला बच्चा जन्माउनेलाई सहज बनाउँछ।
– पुरुषहरुले कडा खालको व्यायाम नगर्ने, अनावश्यक सप्लिमेन्ट लिनु हुँदैन।
– एक वर्षसम्म पनि सन्तान नभए तत्काल चिकित्सकसँग परामर्श गर्नुपर्छ।