भनिन्छ, मान्छेका आँखा सेता चिजमा अडिन्छन्। मीना पुन गुरुङका आँखा पनि नर्सका सेता लुगामा टक्क अडिए। जब मीनाले अस्पतालमा साथीकी दिदीलाई सेतो पोशाकमा देखिन्, त्यसै दिन उनलाई नर्स बन्ने हुटहुटी जाग्यो।
‘देखेको सपना पूरा गर्नुपर्छ, मिहिनेत गर्यो भने सबै सपना पूरा हुने रहेछ,’ उनी भन्छिन्, ‘त्यही सपनाले डोहोर्याएर यहाँसम्म ल्यायो।’
मीनाका बुबा सिंगापुर पुलिसमा थिए। उनी पनि सिङ्गपुरमै जन्मिइन्। पाँच वर्षको भएपछि नेपाल फर्किएकी उनी बुटवलमा हुर्किइन् र यतै पढ्न थालिन्। आठ कक्षा पास भएपछि साथीकी दिदीको सहयोगमा २०३५ सालमा पाल्पाको तानसेनमा अनमीको परीक्षा दिइन्। नाम निस्कियो।
‘नाम निस्किएपछि खुसी लागेको थियो। आफ्नो सपना पूरा हुँदै थियो। त्यो समय हामीलाई विदेशीले पढाउँथे। निकै कडा नियममा बस्नुपर्थ्यो। होस्टलेमा आफूभन्दा सिनियरहरुलाई निकै मान्नुपर्थ्यो,’ मीना सम्झिन्छिन्।
१८ महिनाको अनमी पास गरेपछि उनीसहित साथीहरू काठमाडौँ आएर करारमा नियुक्ति लिए।
उनको पहिलो पोस्टिङ बाराको कलैयामा भयो। २९० रुपैयाँ तलबमा ६ महिना करारमा काम गरिसकेपछि उनले लोकसेवाबाट नाम निकालिन् र फेरि काठमाडौँ आइन्।
काठमाडौँ आएपछि काजमा सेभ द चिल्ड्रेनमा काम गर्न गइन्। सेभ द चिल्ड्रेनसँग जोडिएर सुर्खेतमा चार वर्ष काम गरिन्। ‘मैले जीवनमा सबैभन्दा धेरै चिज सुर्खेतबाटै सिकेँ। गाउँमा काम गर्दा बिरामी, बच्चा र समाजका फरकफरक मान्छेहरूसँग काम गर्ने अवसर पाइयो,’ उनले भनिन्।
तत्कालिन समयमा आठ कक्षा पढ्दापढ्दै अनमी पढेर सकेकी मीनालाई एसएलसी पनि गर्न मन थियो। उनले सुर्खेतबाटै सेकेन्ड डिभिजनमा एसएलसी पास गरिन्।
त्यसपछि उनको विवाह भयो। विवाहपछि उनका श्रीमानले नर्सिङ पढ्न हौसला दिए। ‘विवाहपछि श्रीमानले नर्सिङ पढ्नुपर्छ भन्नुभयो। त्यसपछि टिचिङमा नर्सिङको लागि एप्लाई पनि गर्दिनुभयो। तर त्यसै साल म गर्भवती थिएँ। परीक्षा दिनै सकिनँ,’ उनले भनिन्।
जे-जे भए पनि उनको पढ्ने हुटहुटी भने कहिल्यै सकिएन। २०४२ सालमा पहिलो सन्तान जन्माएपछि २०४३ सालबाटै नर्सिङ पढ्न सुरु गरिन्। काठमाडौँ बस्न थालेपछि उनको काज फिर्ता भयो र सल्यानमा पोस्टिङ भयो।
नर्सिङ पढिरहँदा उनी बेलाबेलामा सल्यान गइरहन्थिन्।
२०४७ सालमा नर्सिङ सकाएकी उनलाई अनमीबाट नर्स हुन् ठ्याक्कै १० वर्ष लाग्यो। नर्सिङ सकाउने समयमा दोस्रो सन्तानलाई जन्म दिइन्। सोही छोरा अहिले डाक्टर पढिरहेका छन्।
त्यसपछि रसुवाको टिमुरेमा पोस्टिङ भयो उनको। दूधे बच्चा बोकेर टिमुरे पुगिन् तर लामो समय भने बस्न सकिनन्।
त्यस लगत्तै २०४७ साल चैतमा मीनाले त्रिभुवन विश्वविद्यालय अन्तर्गत सेवा आयोगबाट टिचिङ अस्पतालमा नाम निकालिन्। टिचिङमा काम गर्न सुरु गरेको करिब डेढ वर्षपछि उनको पदोन्नति भयो र सिस्टर भइन्।
टिचिङमा सुरुमा ओपिडी काम गरिरहेकी उनले पदोन्नतिसँगै अप्रेसन थिएटरमा काम गर्न पाइन्।
‘ओपिडीमा भन्दा अप्रेसन थिएटरमा धेरै काम सिकेँ। त्यसपछि डाक्टरहरूसँगै काम गर्न थालें,’ उनले भनिन्।
जति-जति काम गर्दै थिइन् उनको सिक्ने र पढ्ने लत बढिरहेको थियो। त्यो समय नेपालमा बिएन (नर्सिङमा स्नातक) को पढाइ हुँदैनथ्यो। पढ्ने हुटहुटीले उनलाई भारत पुर्यायो। बिएन पढ्न भारत गइन्।
बच्चाहरूलाई होस्टलेमा राखेर पढ्न गएकी मीना बेलाबेलामा छोराहरूलाई भेट्न आइरहन्थिन्। ‘आमाको मन त हो। थोरै बिदा भए पनि भेट्न आउन मन लाग्थ्यो। रेलमा आउन त्यति सहज लाग्दैनथ्यो। पहिले त बैंगलोरबाट काठमाडौँको प्लेन आउँथ्यो तर केही समयपछि त्यो रुट नै बन्द भयो। म त्यहाँबाट दिल्ली गएर प्लेनमा आउने गर्थेँ,’ उनी सम्झिन्छन्।
भारतमा दुई वर्ष पढेर आएपछि उनी टिचिङमै नियमित काम गर्न थालिन्। भारतबाट आएर अप्रेसन थिएटरमै काम गरेकी उनले त्यसपछि वार्डमा नर्स नभएकाले मेडिकल वार्डमा काम गरिन्। त्यसपछि फेरि आइसियुमा काम गर्न थालिन्।
आइसियुमा काम गर्दागर्दै उनले एउटा क्रिटिकल केयर नर्स एसोसिएसन सुरु गरिन्। ‘आइसियुमा आउने बिरामी अन्तिम अवस्थामा हुन्छन्, ती बिरामीको कसरी केयर गर्ने, के-के कुरामा ध्यान दिने भनेर क्यानडाको एक जना सिस्टरसँग ट्रेनिङ लियौँ। त्यसपछि यहाँका डाक्टरहरूको सहयोगमा एसोसिएसन सुरु गरेको हौँ,’ उनले भनिन्।
यो एसोसिएसनले देशभरिका नर्सहरूलाई तालिम दिने, रिसर्चहरू गर्ने, क्याम्प सञ्चालन गर्ने, नर्सहरूको सिप विकासमा सहयोग गर्ने काम गरिरहेको मीना बताउँछिन्।
अहिले उनी टिचिङ अस्पतालको अप्रेसन थिएटरमा सुपरभाइजरको पदमा कार्यरत छिन्। अप्रेसन थिएटरमा भगवान् कोइराला लगायत धेरै डाक्टरसँग काम गरिसकेकी छन्। काठमाडौँका धेरै अस्पतालहरूमा आइसियु र अप्रेसन थिएटर सेट गरेको अनुभव पनि छ उनीसँग।
नर्स हुनु भनेको पढाइसँगै सिप पनि हो भन्ने मान्छिन् उनी। ‘नर्स भइसकेपछि मन, तन, धन लगाएर काम गर्नुपर्छ। अहिले नर्स पढेपछि नेपाल कोही बस्दैन। सेवाभन्दा बढी पैसा कमाउनुपर्छ भन्ने मात्रै छ। अस्पतालमा डाक्टर जत्तिकै नर्सको पनि भूमिका हुन्छ,’ उनले भनिन्।
नर्सिङ पेसामा सम्मान हुँदैन भन्छन् नि भन्ने प्रश्नमा उनी सम्मान भन्ने कुरा जे दिइन्छ त्यही पाइने हो भन्छिन्।
चार दशकयता नर्सिङ पेसामा सक्रिय मीनाका लागि काम नै सबथोक हो। अस्पताल नै घर हो। अस्पतालमा सेवा गर्ने अवधि सकिनै लागे पनि बाँचुन्जेल बिरामीकै सेवा गर्ने चाहना छ उनको।