सानै उमेरदेखि निडर र डिफेन्सिभ स्वभावकी रमिला चौलागाईं पढाईमा पनि निकै अब्बल थिईन्। स्कुल पढ्दा उनलाई गुरुहरूले सधैँ कानून पढ्ने सल्लाह दिन्थे। उनलाई पनि कानुन नै पढ्ने रहर थियो। तर एकदिन बिरामी लिएर नारायणी अस्पताल पुगेका उनका बुवाले नर्सहरुलाई देखेपछि छोरी रमिलालाई पनि नर्सिङ पढाउने सोचेका थिए। रमिलाले २०४६ सालको एसएलसी परिक्षामा ७० प्रतिशत ल्याएर पास भएपछि उनको बुवाको सपनालाई झन् मलजल पुग्यो।
‘बुवाले यति राम्रो पढाई छ, नर्सिङ पढ्नुपर्छ भनेर भनीरहनु भयो। नर्सिङ पढ्यो भने पछी एमबीबीएस पनि पढ्न पाईन्छ भन्नेसमेत कुरा गर्नुभएको थियो। त्यो समयमा छोरा बिग्रियो कमर्सले छोरी बिग्रियो नर्सले भन्ने चलन हुँदा पनि बुवाले त्यही पढ्न उत्प्रेरित गरेपछि नर्सिङ पढ्ने निधो गरेको थिएँ,’ रमिला भन्छिन्।
नर्सिङ पढ्छु भनेपछि बुवा आफैँले वीरगन्ज नर्सिङ क्याम्पसमा फर्म भरिदिएको कुरा हिजै जस्तो लाग्छ रमिलालाई। त्यतिबेला नर्सिङको इन्ट्रान्स दिनु पर्दैन थियो। एसएलसीको नम्बरको आधारमा पढ्न पाईन्थ्यो।
वीरगन्ज नर्सिङ क्याम्पसमा उनको नाम निस्कियो। रौतहटको चन्द्रपुर नगरपालिकामा जन्मिएकी उनलाई वीरगन्जको वातावरण खासै नौलो थिएन। २०४७ सालमा वीरगन्ज नर्सिङ क्याम्पसमा पिसिएल नर्सिङमा भर्ना भएकी उनले २०५१ सालमा पास गरिन्।
उक्त साल पिसिएल तेस्रो वर्षको परीक्षा सकेर जेठको २८ गते कलेजको होस्टलबाट निस्केकी उनले असारको १ गतेबाट नारायणी अस्पतालमा अनमीको रुपमा काम गर्न थालिन्।
‘पहिलो र दोस्रो वर्षको रिजल्ट आईसकेको थियो, तेस्रो वर्षको परीक्षा भर्खर दिएको हुनाले अनमीको पोस्टिङ भएको थियो। रिजल्ट आउने बित्तिकै स्टाफ नर्समा सिफ्ट गराउने सल्लाह भएको थियो,’ रमिला सम्झीन्छिन्। उनको पहिलो तलब १६ सय ५० थियो।
नारायणीमा काम गर्दा गर्दै साउनको २२/२३ मा तेस्रो वर्षको रिजल्ट आयो। रमिला र उनीसंगै पोस्टिङ भएका साथीहरुले रिजल्ट आए लगत्तै फेरि नर्सिङको पोस्टको लागि निवेदन दिए। त्यसपछिको भदौको १ गतेबाट उनी स्टाफ नर्समा नियुक्त भईन्। नर्स भएपछि उनको तलब बढेर १६ सय ५० बाट १९ सय ७५ भएको थियो। नारायणी अस्पतालमा विकास समितिको तर्फबाट उनको नियुक्ति भएको थियो।
‘त्यसै भदौमा यता लोकसेवा पनि खुल्यो। हेटौंडामा लोकसेवाको शाखामा आएर फर्म भरें। मंसिरमा परीक्षा थियो।लिखितमा नाम निस्कियो। फाल्गुनमा अन्तरवार्ता थियो त्यो पनि दिएँ,’ उनले भनिन्।
जुम्लाको यात्रा
लोकसेवामा अन्तरवार्ता दिएर उनी नारायणीमै काम गरिरहेकी थिईन्। एकदिन उनलाई फोन आयो। त्यो फोन सिटिइभिटीको करिकुलम अफिसर किरण दवाडीको थियो। दवाडीले रमिलालाई पिसीएल पढ्दा दोस्रो वर्षमा ‘मिडवाइफ्री बी’ भन्ने विषय पढाएकी थिईन्। उक्त विषयमा रमिला अब्बल थिईन् र उनको चासो पनि थियो। दवाडीले उनलाई जुम्ला जान प्रस्ताव गरिन्।
‘म्यामले मलाई जुम्लामा टेक्निकल एसएलसीको विद्यार्थीहरूलाई पढाउन जाने प्रस्ताव राख्नु भयो। केही सिकिन्छ, केही जानिन्छ भन्नुभयो। आफूलाई पढाएको गुरुले यस्तो प्रस्ताव राख्दा के भन्ने के भन्ने भयो। तत्कालै केही भन्न सकिन तर घरमा सल्लाह गर्छु भने,’ उनले भनिन्।
उनले घर गएर बुवाआमालाई उक्त कुरा सुनाउँदा उनीहरु आत्तिए। उनी सम्झिन्छिन्,‘बुवाले जान आउन गाह्रो होला, कस्तो हुन्छ राम्रोसँग बुझ भन्नुभयो, नजाउ चाहिँ भन्नु भएन। आमाले चाहिँ टाढा छ, फोन सम्पर्क हुदैंन पर्दैन,नजाउ भन्नु भयो।’
गएर दूईतिन महिना काम गर्ने धेरै गाह्रो भयो भने फर्किने सल्लाहमा घरकालाई मनाएर उनले जुम्ला जाने निर्णय गरिन्। घर र नारायणी अस्पतामा जुम्ला जाने कुरा सुनेपछि साथी र आफन्तहरुले त्यति टाढा किन जाने कसरी जाने भनेर लामो सास फेर्थे।
‘जुम्ला जाने भनेपछि सबैले कस्तो निडर, कति टाढा जान लाको भन्ने गर्थे। जुम्लालाई हाम्रो देश भित्रकै ठाउँ हो जस्तै नगर्ने चलन थियो तर मैले जाने निर्णय गरिसकेको थिए,’ उनी भन्छिन्।
त्यसपछि उनले नारायणी अस्पतालबाट राजिनामा दिईन्। काठमाडौँ आएर जुम्ला जाने चिठी र प्लेनको टिकट लिईन्। उनी २०५१ सालको फाल्गुन २६ गते जुम्लाको लागि उडिन्। उनी पुग्दा त्यहाँ स्कुलमा जाडो बिदा चलीरहेको थियो। ‘त्यहाँ पुस, माघ र फाल्गुनमा जाडो बिदा दिने रहेछन्। विद्यार्थीहरुलाई नेपालगंजमा राख्ने चलन रहेछ। त्यहाँ पुगेर हाजिर गरेपछि नेपालगन्ज आएँ, अनी नेपालगन्ज बसेर विद्यार्थीहरूसंगै जुम्ला गएर चैतबाट पढाउने काम सुरु भयो,’ उनले भनिन्।
असिस्टेन्ट इन्स्कटरको रुपमा जुम्ला पुगेकी उनले त्यहाँ अनमी, सिएमएलाई ‘मिडवाईफ्री बी भन्ने विषय पढाउन थालिन्। घरमा सम्पर्क थिएन्, र पनि गाउँमा बस्दा बिरामीको सेवा गर्दै पढाउन पाउँदा निकै खुसि थिईन्।
चैतबाट काम सुरु गरेकी उनी करिब छ/सात महिनापछि दसैं तिहार मनाउन घर फर्किईन्। जुम्लाबाट सिधै काठमाडौँ आएकी उनीसँग एक्कासी वीरगन्जका भ्याक्सिनको कोल्डचेन मेन्टेन गर्ने व्यक्तिसँग भेट भयो।
‘दसैंको बिदामा घर जानलाई काठमाडौँ आएकी थिएँ। माइतीघरमा एक्कासी भेटिएका वीरगन्जका भ्याक्सिनको कोल्डचेन मेन्टेन गर्ने दाईले तपाई नारायणीमा काम गर्ने सिस्टर होईन भनेर सोध्नु भयो। उहाँले नै यो बिचमा कहाँ हराउनु भएको थियो? तपाईले लोकसेवा दिनु भएको रहेछ, तपाईको त गोरखापत्रमा नाम आएको थियो भन्नु भयो,’ रमिला भन्छिन्।
तिनै व्यक्तिले रमिलालाई एकपटक मन्त्रालयमा गएर बुझ्न सुझाव दिए। उनी आफ्नो नाम निस्किएको हो की होईन भनेर बुझ्न मन्त्रालय पुगिन्। मन्त्रालयका कर्मचारीले उनलाई हरिहरभवन गएर बुझ्न लगाए। त्यहाँ पुगेपछि थाहा भयो उनको नाम निस्किएको रहेछ। उनी सम्झिन्छिन्, ‘त्यहाँको सरहरूले तपाईको नाम निस्केको छ, नियुक्तिको कागज लिने गरेर आउनु भन्नुभयो। कहिलेसम्म आउँदा हुन्छ भनेर सोध्दा जहिल्यै आएपनि हुन्छ तपाईको पोस्टिङ नारायणी अस्पतालमा हो भनेर भन्नु भएको थियो।’
त्यसपछि उनी दसैं सकाएर कार्तिकको अन्तिममा एकपटक फेरि जुम्ला गईन्। उनले त्यहाँ एक वर्षको नियुक्ति लिएको थिईन्। मंसिरको एक महिना काम गरेपछि त्यहाँ पुस माघ र फाल्गुन जाडो बिदा भयो। त्यसपछि उनी आफ्नो सामान लिएर काठमाडौँ फ़र्किईन्।
०००००
काठमाडौँबाट नियुक्ति पत्र लिएर उनले २०५२ साल चैत १९ गतेबाट नेपाल सरकारको स्टाफ नर्सको रुपमा नारायणी अस्पतालमा काम गर्न थालिन्। उनी त्यहाँ काम गर्दाका दिनहरु सम्झिदै भन्छिन्, ‘बिरामीहरू एकदमै क्रिटिकल अवस्थामा अस्पताल ल्याइपुर्याउने, अनी बिरामीलाई केही भयो भने अगाडी जे छ त्यसैले डाक्टर नर्सहरुलाई हातपात हुन्थ्यो।’
काम गर्दै गर्दा उनलाई नर्सिङमा ब्याच्लर गर्ने इच्छा लाग्यो। त्यसपछि उनले २०५५ सालमा नेपाल सरकारको कोटाबाट महाराजगंज नर्सिङ क्याम्पसमा बीएनको इन्ट्रान्स परीक्षा दिईन्। उनको नाम निस्कियो। उनले २०५५ सालको मंसिर एक गतेबाट बीएनको पढाई सुरु गरिन् र २०५७ सालमा सकाइन्।
बीएन सकाएपछि काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा भइन्। करिब सात वर्ष टेकुमा काम गर्दा फरक किसिमको अनुभव भयो। सरुवा रोगको बारेमा धेरै कुराहरू सिक्ने अवसर मिलेको बताउछिन् उनी।
टेकुपछि २०६३ सालको भाद्रमा उनको सरुवा वीर अस्पतालमा भयो। उनी नारायणीमा नियुक्त भएदेखि नै स्टाफ नर्स पाचौं तहमा काम गरिरहेको थिईन्। ‘बीएन गर्दा समेत कुनै तह स्तरबृद्दी भएन।
'स्वास्थ्य सेवा नियमावलीअनुसार दश वर्ष काम गरिसकेपछि, दुई तह माथि जान पाउने ऐनले दिने कुरा हो, त्यो ऐन हामीलाई अन्याय पूर्ण छ। २०६४ सालमा छैठौं तहमा लगेको हामीलाई १५ वर्ष हुन लाग्दासम्म पनि सातौं तहमा लगेको छैन,’उनी भन्छिन्।
लामो समय हस्पिटलमा काम गरिसकेपछि २०७६ कत्तिक १६ गतेबाट उनी वीरकै नर्सिङ कलेजमा सिफ्ट भईन्। कलेजमा पढाए पनि अस्पतालमा बिरामीको सेवा गरेपनि उनलाई नर्सिङ पेशा प्रति निकै गर्व छ।
भूकम्प गएको त्यो दिन
२०७२ साल बैशाख १२ गते भूकम्प गएको दिन उनको वीर अस्पतालको फिमेल सर्जिकल वार्डमा ड्युटी थियो। श्रीमान घर भन्दा बाहिर थिए भने घरमा दुई जना छोरीहरू मात्रै थिए। भूकम्प जाने बित्तिकै अस्पतालका कर्मचारी र भाग्न सक्ने बिरामीहरू खुल्लामञ्च तिर भागिसकेका थिए। तर रमिला भने सर्जिकल वार्डका बिरामीका कुरुवाहरूलाई तपाईको बिरामी खुल्लामञ्च लाने की यहीं राख्ने भन्दै सोधेर हिँडीरहेकी थिईन्।
खुल्लामञ्च जाने बिरामी खुल्लामञ्च गए, त्यहीं बस्ने बिरामी त्यहीं बसेपछि बल्ल उनलाई घरमा भएका छोरीहरू र श्रीमानको याद आयो। घरमा छोरीहरुको फोन लागेन। आत्तिएर फोन लगाउँदै कुदेर दरवार हाई स्कुल अगाडी पुग्दा आफूलाई अस्पतालकै ड्रेसमा पाईन् उनले। त्यसपछि अस्पताल आएर कपडा चेन्ज गरेर दुई घण्टा हिडेर जोरपाटी (घर) पुगिन्।
‘घरपुग्दा छोरीहरू बाहिर आत्तिएर बसेका थिए। उनीहरूसँग केही बेर बसेर उनीहरुको व्यवस्थापन गरेर फेरि हिडेरै अस्पताल फर्केर आएँ। अस्पताल आएर डाक्टरहरूसँग मिलेर बिरामीको व्यवस्थापन गरेर फेरि राती फर्किएर घर नै गएको थिएँ। जेजस्तो सुकै अवस्था आईपरे पनि आफ्नो कर्म, आफ्नो पेशा प्रति जिम्मेवार हुनुपर्छ। बिरामीको सेवा गर्ने मेरो पेशा हो। मैले जुन अवस्थामा पनि त्यो गर्नुपर्छ,’ उनी भन्छिन्।