काठमाडौं- चितवनकी अन्जना श्रेष्ठले पाँच कक्षा पढ्दै गर्दा फ्लोरेन्स नाइटिङ्गेलको बारेमा पढेकी थिइन्। सोहि कुरा पढेपछि उनले घरमा गएर बुवालाई आफू पनि नर्स बन्न चाहेको सुनाइन्।
बुवा धादिङको बेनिघाट स्थित विशालटारको चन्द्रोदय माध्यामिक विद्यालयमा शिक्षक थिए। उनी पनि सोहि विद्यालयमा पढ्थिन्। २०५८ सालमा एसएलसी पास भएपछि आफ्नो सपनालाई पूरा गर्न वीरगञ्ज पुगिन्। वीरगञ्ज नर्सिङ क्याम्पसबाट पिसीएल नर्सिङ गरिन्।
२०६१ सालमा नर्सिङ पास भएपछि एक वर्ष निजी संस्थाहरुमा काम गरिन् र लोकसेवाको परीक्षा पनि दिइन्। पहिलो प्रयासमा नै लोकसेवामा उनको नाम निस्कियो। २०६३ साल जेठ २२ गते नारायणी अस्पताल वीरगञ्जमा नियुक्त भएकी उनी आजसम्म पनि त्यहीं कार्यरत छिन्। अन्जना २०७० सालदेखि सर्जरी र अर्थो वार्डको नर्सिङ इन्चार्जको भूमिका निभाइरहेकी छिन्। उनी अस्पतालकै कान्छी इन्चार्ज भनेर समेत चिनिन्छिन्।
उनी विरगञ्जका सुरुवाती दिनहरु निकै चुनौतीपूर्ण भएको बताउँछिन्। 'सुरुसुरुमा भाषाको समस्या हुन्थ्यो, साथीहरुसँग ६ महिना भोजपुरी नै बोलेर भाषा सिकियो। रितिरिवाज चालचलनहरु सबै कुराहरु फरक थिए। फरक सोचाईमा भिजेर काम गर्न गाह्रो हुन्छन नै,' उनले भनिन्।
आजकल उनलाई वीरगञ्ज छाड्नै मन लाग्दैन। किन सरुवा नगरेको भनेर थुप्रैले प्रश्न गर्छन् तर उनी अस्पताललाई परिवर्तन गर्न चाहन्छिन्। उनलाई त्यहीं बसेर काम गरिरहने इच्छा छ। अस्पतालमा उनी नर्सिङ इन्चार्जसँगै फोहोरमैला व्यवस्थापनको फोकल पर्सनको रुपमासमेत कार्यरत छिन्। फोहोरमैला व्यवस्थापन समिति बन्नु भन्दा पहिले अस्पतालमा फोहोर मुख्य समस्याको रुपमा रहेको उनले बताइन्। 'त्यो समयमा फोहोर बाहिरै फाल्ने, जथावाभी जलाइदिने, गाईबस्तु आएर त्यो फोहोर खाइदिने समस्या थियो। त्यसले आम मान्छेलाई पनि असर गरिरहेको थियो। नगरपालिकाले थेग्नै नसक्ने अवस्थामा हामीबाट सुरु भयो। त्यसमा युएनडिपीले समेत सहयोग गर्योे,' उनले भनिन्।
हाल अस्पतालमा फोहोरमैला व्यवस्थापनको लागि छुट्टै ट्रिटमेन्ट सेन्टर पनि छ। जहाँ फोहोरहरु छुट्याइन्छ। निर्मलीकरण गर्नुपर्ने फोहोरहरु निर्मलीकरण गर्ने, बिक्रि वितरण गर्न मिल्नेलाई बेच्ने गरिन्छ। उनका अनुसार अस्पतालले फोहोर बिक्री गरेर मासिक २५/३० हजार कमाउन सुरु गरिसकेको छ। उनी भन्छिन्,'सबैले बाहिरबाट हेर्दा तराई फोहोर छ। केही परिवर्तन हुन सक्दैन भन्ने छ। तर पनि राम्रो बनाउन सक्छ, अलिकति व्यवस्थापन गर्नुपर्ने ठाउँलाई व्य्वास्थापन गर्न पाएमा पो राम्रो हुन्छ भनेर काम गरिरहेकै छौँ।'
कोभिडपछि नर्सहरुलाई महत्व र सम्मान दिन थालिएको उनको बुझाइ छ। त्यो भन्दा पहिला नर्सहरुलाई अस्पतालको महत्वपूर्ण हिस्सा नमान्नेहरुले पनि आजकलका दिनहरुमा नर्सहरुको कामको मुल्यांकन गर्ने गरेको उनले बताइन्। कोरोनाकालमा आफूहरुलाई बिरामीको अवस्था देखेर मन सम्हाल्न गाह्रो भएको उनी सम्झिन्छिन्। वीरगञ्जको गर्मीमा पिपिईभित्र गुम्सिएको शरीर सम्झिदा उनलाई अझै पनि अत्यास लाग्छ।
उनी भन्छिन्, 'पहिलो लहरमा हामीले रोगको प्रकृति बुझेका थिएनौं र पनि डरलाग्दो अवस्था थिएन। दोस्रो लहर निकै गर्मीको समयमा आएको थियो। पिपिईसम्म लगाउन नसक्ने अवस्था थियो। कहिलेकाहीँ मास्क र गाउन कै भरमा मात्रै पनि सेवा दिनुपर्ने अवस्था थियो। कहिलेकाहीं दिनमै १२/१३ जनाको मृत्यु हुन्थ्यो, बिरामीलाई त्यो अवस्थामा देख्दा मन सम्हाल्नै नसक्ने जस्तो हुन्थ्यो तर पनि काम त गर्नु नै थियो।'
सर्जरी र अर्थो वार्डको इन्चार्जको हिसाबले सबैखाले प्राकृतिक विपदमा पनि अन्जनाको भूमिका महत्वपूर्ण हुन्छ। जागिर गर्दागर्दै उनले महाराजगञ्ज नर्सिङ क्याम्पसबाट ब्याचलर इन नर्सिङ स्टडिजको पढाई पनि सकीसकेकी छन्। अन्जनालाई आफ्नो पेसाप्रति निकै गर्व छ। उनी भन्छिन्,'बच्चैदेखिको इच्छा हो त्यसकारण पनि मलाई यो पेशामा आएर कुनै अप्ठेरो महसुस भएको छैन।'
गत सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा दिवसको अवसरमा अन्जनालाई स्वास्थ्य सेवा पुरस्कारले सम्मानित गरेको छ। पुरस्कार पाएर आफूलाई निकै खुसी लागेको उनले बताइन्। 'पुरस्कार जसलाई पनि खुसी लाग्ने कुरा नै हो। मलाई पनि त्यस्तै नै लागेको छ। निरन्तर निस्वार्थ भएर काम गर्योक भने पुरस्कार पनि पाइने रहेछ। कामको मुल्यांकन हुने रहेछ,' उनले भनिन्। उनलाई मन्त्रालयले जनही ५० हजार रुपैयाँ र ताम्रपत्रसहित सम्मान गरेको हो।
उनी नर्सहरुलाई नेपालमै बस्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिन्छिन्। नर्सहरुलाई पर्याप्त तलब सुविधा, अस्पतालहरुमा सहयोगी वातावरण हुनुपर्ने उनको बुझाइ छ। त्यस्तै विदेश जानको लागि मात्रै नर्सिङ नपढ्न उनको अनुरोध छ। उनी भन्छिन्, 'कोहि बाहिर जानैकोलागी मात्रै पनि नर्सिङ पढिरहेका हुन्छन्। नर्सिङ पेशा भनेको सेवामा भिजेर गर्नुपर्ने काम हो जबसम्म तपाईलाई मनदेखि सेवा गर्ने भावना आउदैन् तबसम्म तपाईं अगाडी बढ्न सक्नुहुन्न। मनदेखि काम गर्नुस्। पढीसकेपछि देशमै केहि गर्छु भन्ने हिसाबले अगाडि बढ्नुहोला। कमाइ मात्रै नहेरेर सेवालाई पनि हेर्न जरुरी छ।'