काठमाडौं- वीर अस्पतालको फार्मेसीमा पारासिटामोल नपाउँदा बिरामीहरु बाहिर निजी फार्मेसीमा जान बाध्य भएका छन्। अस्पताल फार्मेसीले औषधि किन्न पुगेका बिरामी तथा बिरामीका आफन्तलाई पारासिटामोल पाइँदैन भन्दै फर्काउने गरेको छ।
शुक्रबार स्वास्थ्यखबरको टोली अस्पताल पुग्दा फार्मेसीले अस्पतालमै भर्ना भएका बिरामीलाई समेत पारासिटामोल नभएको भन्दै बाहिर पठाएको भेटिएको छ। स्वास्थ्य बिमा अन्तर्गत औषधि लिन गएका बिरामीले पारासिटामोल बाहिर किन्नु परेको गुनासो गरिरहेका थिए।
स्वास्थ्यखबरले पारासिटामोल बाहिर पसलमा किन्न हिँडेका बिरामीका आफन्तसँग कुराकारी गरेको थियो। सो क्रममा एक बिरामीका आफन्तले फार्मेसीमा तीन दिनदेखि पारासिटामोल छैन भन्दै बाहिर लिन पठाउने गरेको जानकारी दिए।
'मैले स्वास्थ्य बिमा अन्तर्गत उपचार गराइरहेको थिएँ। डाक्टरले चार प्रकारका औषधि लेखिदिनु भएको थियो। त्यी मध्ये दुई वटा बिमाबाटै पाइयो।
पारासिटामोल र अर्को एउटा औषधि भने बाहिर लिन भनियो,' उनले भने, 'मेरो छोरीले सिटामोल त हुनुपर्ने होइन् र भनेर सोध्दा छैन, तीन दिनदेखि आएको छैन भनेर भने। अनि बाहिरबाट किनेर ल्याइयो,' एक बिरामीको कुरुवाले भने।
अस्पतालका फार्मेसी प्रमुख श्याम मण्डल भने फार्मेसीमा पारासिटामोल अभाव नभएको दाबी गर्छन्। 'पारासिटामोलको अभाव छैन, हामीसँग पर्याप्त मात्रामा स्टोरमा सिटामोल छ,' उनले भने।