काठमाडौं- मध्याह्न १२ बजे। नेपालको सबैभन्दा पुरानो वीर अस्पताल प्राङ्गण। शनिबार बिदाको दिन छोडेर कुरा गर्ने हो भने, यहाँ हरेक दिन ओपीडीको बाहिरसम्म लाइन लाग्ने गर्छ। यतिबेला अलमल यस्तो हुन्छ, आफूलाई ‘तिस्मार खाँ’ मान्नेहरूको पनि पसिना छुट्ने गर्छ।
तपाईंहरूमध्ये कोही उपचारका लागि सरकारी अस्पताल जानुभएको छ भने यो बताइरहनु नपर्ला, कति अस्तव्यस्त छन्, हाम्रा सरकारी अस्पतालहरू।
यस्तै, दृश्य वीर अस्पतालमा सहजै देख्न सकिन्छ। अस्पतालको ओपीडी विभाग खुलेपछि डाक्टरलाई देखाएर फर्किंदै गरेका र डाक्टर कुर्दै बसेका थुप्रै बिरामी देखिन्छन्। तर यसमा पनि आफूलाई जाँच्ने डाक्टरको कोठा खोज्दै भौंतारिइरहेको भीड बढी देखिन्छ।
यही साता यस्तै भीडमा एक वृद्ध जोडी वीर अस्पतालको प्राङ्गणमा फेला परे। एउटा हातमा कागजको थुप्रो र अर्को हातमा लौरो समाएको यो जोडी अलमलकै कारण आफ्नो आँखा यताउति नचाइरहेको थियो।
मित्र भण्डारी (७९), आफ्नी श्रीमती टीका भण्डारी (नाम परिवर्तन) सँगै वीर अस्पताल उपचारका लागि आएका थिए। सिन्धुपाल्चोक घर भएका यो वृद्ध जोडीलाई उच्च रक्तचाप र मधुमेहको समस्या थियो। गाउँमा धेरै पल्ट उपचार गरे पनि समस्या ज्यूँका त्यूँ रहेपछि उनीहरू शहरको अलि ठूलो तथा देशकै पुरानो अस्पतालमा उपचारका लागि आएका थिए।
उनीहरूको हातमा कागजको थुप्रो थियो। बेलाबेला पछाडि फर्किरहन्थे। लामो समय यताउति भौंतारिदा थकित भएका मित्र ग्यास्ट्रो ओपीडीको खाली कुर्सीमा पुगेर थचक्कै बसेँ। यतिबेला उनलाई पछ्याइरहेकी ७४ वर्षीय श्रीमती टीकाको अनुहारमा पनि त्यही थकान देखिन्थ्यो। उनी पनि श्रीमान् नजिकै लामो कुर्सीमा गएर टुसुक्क बसिन्।
श्रीमान् आफ्नो हातमा भएको कागज पालैपालो हेरिरहेका थिए। यति नै बेला टीकाले जिज्ञासा राखिन्, ‘कोही जानेबुझेका मान्छेलाई सोध्ने हो कि ?’
तर, पहिले पनि सरकारी अस्पतालमा उपचार गराइसकेका मित्रले दिग्दारी मान्दै भने, ‘खै, कसले भन्देला र !’
छेउमै पालो कुरिरहेकी एक किशोरीले उनीहरूको संवाद सुनेपछि सोध्न आइन्, ‘के भएर आउनु भा’ बा?’
किशोरीको चासोबाट प्रसन्न देखिएका मित्रले आफ्नो कुरा राखिहाले, ‘यो कुन टिकट हो नानी, आमाको कुन हो, मेरो छुट्टयाइदिनु पर्यो!’
बाको हातमा रहेको रिपोर्टको चाङ केही मिनेट केलाएपछि किशोरीले छुट्याउँदै भनिन्, ‘ल यो बाको हो। यो चाहिँ आमाको। बाँकी सबै पुराना हुन्। डाक्टर साबले माग्नु भए मात्र देखाउनु। नभए पर्दैन।’
किशोरीको जाँचको पालो आयो। आफ्नो नाम आउने वित्तिकै उनी डाक्टरको कोठाभित्र प्रवेश गरिन्। आफू उपचारका लागि कोठाभित्र प्रवेश गर्दा उनलाई लागेको थियो, उपचारका लागि अस्पताल आएका ती वृद्धहरू पनि जँचाउन गए होलान्।
तर, आफ्नो उपचार सकेर फर्किएकी ती किशोरी त्यतिबेला छक्क परिन्, जब उनले जुन अवस्थामा ती वृद्धवृद्धालाई छोडेर गएकी थिइन्, उनीहरू त्यही कुर्सीमा बसिरहेका थिए। उनले फेरि नजिकै पुगेर सोधिन्, ‘किन नगएको उपचारका लागि?’
यतिबेला थाहा भयो, उनीहरू मधुमेह र उच्च रक्तचापको बिरामी भएको र ओपीडीको टिकट लिँदा उनीहरूलाई इन्डोक्राइन विभागमा जान सिफारिस गरिएको थियो। तर केही कुरा थाहा नहुँदा उनीहरू करिब एक घण्टा ग्यास्ट्रो विभाग अगाडि उभिए। तिनै किशोरीले उनीहरूलाई इन्डोक्राइन विभाग लगेर छोडिदिइन्।
भण्डारी दम्पतीको परिवारमा कोही छैन। न काठमाडौंमा कोही आफन्त। उनी भन्दै थिए, ‘एउटा मात्र रोग भए, उतै जँचाए पनि हुने हो। दाँत पनि देखाउनु छ, घुँडा पनि दुख्छ। सबै एकै ठाउँमा जँचाउन हुन्छ भनेर यहाँ आएको। तर यहाँ पनि कता जाने कता भनेर दोधारमा परिन्छ।’
यी दुवै सरकारले प्रदान गर्ने वृद्ध भत्ताको रकम बुझेर काठमाडौं आएका थिए। तर बाटोमा नै कसैले पैसा चोरिदियो। काठमाडौंमा मजदुरी गरेर बसेका गाउँका एक युवकले उनीहरूलाई उपचार अवधिभर बास दिएका रहेछन्।
‘उपचार त बीमाले हुन्छ। तर हिँड्न र खान साहै्र समस्या हुने भो। त्यो गाउँको केटोसँग पैसा माग्ने कुरा भएन। आफैं मजदुरी गरेर पेट पाल्छ। बिहान–बेलुका बस्न दिएको छ, यो नै हाम्रो लागि ठूलो कुरा भयो,’ टीकाले भनिन्।
यो कुरा सुनेपछि डाक्टरको पालो कुरिरहेका केही बिरामीले उनीहरूलाई सक्ने सहयोग गरे। अप्ठेरो मानेर सहयोग थापेका मित्र भनिरहेका थिए, ‘अब तपाईंहरूसँग फेरि भेट हुन्छ कि हुँदैन। यो ऋणको भार पो लाग्ने भो मलाई। पैसा फिर्ता गर्न नसके पनि आशिर्वाद दिन्छु, बाबुनानी हो ! तिमीहरू सबैको सधैं राम्रो होस्।’
मित्र वीर अस्पताल दोस्रो पटक आएका थिए। ‘पहिले आउँदा पनि यो अस्पताल यस्तै थियो,’ उनले सम्झिए, ‘टिकस् काट्दा तेस्रो तलामा जानु भन्या भएर म गएर बसें। मलाई त्यहाँ कसैले केही सोधेन। धेरै बेर हुँदा पनि मेरो नाम कसैले नबोलाएपछि एक जना केटोलाई सोधें। उसले भनेपछि मात्रै थाहा भयो, म त तेस्रो तलामा भनेर दोस्रो तलामा पो कुरेर बसेको रहेछु। पढ्न नजान्नु पनि ठूलै समस्या रहेछ।’
उनी भाषागत तथा अस्पताल आउँदा आफू जस्ता वृद्धवृद्धालाई पर्ने अन्य समस्या समाधान भए बिरामीलाई धेरै राहत हुने सुझाव दिन्छन्।
०००
गोल बिक (६०)। बाजुरा बडिमालिका–७, जिल्ली घर भएका उनी ग्यास्ट्राइटिसका बिरामी हुन्। जिल्ला अस्पताल मार्तडीमा पटकपटक उपचार गराएपछि उनलाई पाइल्स भएको आशंका गरियो। जिल्ला अस्पतालले त्यहाँ उनको उपचार हुन नसक्ने भन्दै काठमाडौंको वीर अस्पतालमा रिफर गर्यो।
उनले काठमाडौं पुगेर उपचार गर्नका लागि ऋण लिए। छोराछोरी काठमाडौंमै बसोबास गर्थे। यहाँ आएलगत्तै नातिनी कोपिला बिकको साथ लागेर उपचार गर्न वीरमा पुगे। वीरमा उनलाई दिसा, पिसाब र रगत जाँच गर्न भनियो। कागज बोकेर उनी नातिनीसँग परीक्षण गर्ने स्थानको खोजीमा हिँडे। कागज थमाउने स्वास्थ्यकर्मीले ‘ल्याबमा गएर नमुना दिनु’ मात्र भनेर अर्को बिरामीको कागजपत्र हेर्न थाले। नातिनीसहित उनी पनि प्रयोगशाला रहेको स्थान खोज्न थाले। चार जनासँग सोधखोज गरेपछि बल्ल उनीहरुले प्रयोगशाला भेटे। त्यहाँ पनि उनले सहजै सेवा पाउन सकेनन्। दिसा र पिसाबको नमुना राख्ने बट्टा लिनै सकस पर्यो। नातिनीको सहयोगमा स्वास्थ्यकर्मीसँग पटकपटक कुराकानी गरेपछि बल्ल उनले रगत, दिसा र पिसाबको नमुना दिन सफल भए।
यति मात्र होइन, उनलाई कोलोनोस्कोपी परीक्षण पनि गर्न भनिएको थियो। त्यसका लागि समय लिन पनि उनलाई समस्या नै पर्यो। क्लोनोस्कोपीका लागि एक महिनापछि आउन समय उपलब्ध गरायो। ‘डेट’ लिने दिन अस्पतालमा सँगै गएकी नातिनीलाई उनीसँग भित्र पस्न दिइएन।
एक महिनापछि क्लोनोस्कोपीका लागि उनी फेरि नातिनीसँगै अस्पताल पुगे। बिहान लामो लाइनमा बसेँ। पालो आएपछि भित्र पस्दा क्लोनोस्कोपी गर्नुअघि औषधि खाएर आउनुपर्ने भन्दै बाहिर पठाए।
एक महिनाअघि क्लोनोस्कोपीको ‘डेट’ लिन जाँदा उनले डाक्टरको भाषा बुझेका थिएनन्। उनी भन्छन्, ‘मैले डाक्टरको भाषा बुझिन्।’
भाषाको समस्याले डाक्टरले खाएर आउनु भनेको औषधि नखाई उनी अस्पताल पुगेका थिए।
कान कम सुन्ने र नेपाली खस भाषा नबुझ्ने कारणले गर्दा तोकिएको मितिमा उनको क्लोनोस्कोपी हुन सकेन। उनलाई फेरि १५ दिनपछिको समय उपलब्ध गराइयो।
नातिनी कोपिलाले सरकारी अस्पतालमा भाषाको समस्या हुँदा उपचारमा निकै गाह्रो पर्ने गरेको बताइन्। ‘हामी जस्ता दुर्गम, अझ फरक भाषा र लवजका मान्छेलाई यहाँ दिनभर घुमाइदिन्छन्,’ उनले दुःखेसो पोखिन्।
०००
चाबहिल बस्ने २१ वर्षीय सुनिता (नाम परिवर्तन) लाई तल्लो पेट दुख्ने समस्या थियो। योनीबाट सेतो पानी बग्ने र पिसाब पोल्ने समस्या थपिएपछि उनी आत्तिएर नजिकैको निजी अस्पताल पुगिन्।
त्यहाँ उनले स्त्री रोग विशेषज्ञसँग परामर्शका लागि टिकट काटिन्। टिकट काउन्टरका कर्मचारीले दोस्रो तल्लामा जान उनलाई सल्लाह दिए। सोहीअनुसार दोस्रो तल्ला पुगेकी सुनिताले लगभग एक घण्टा चिकित्सकको पालो कुर्नुपर्यो।
लामो सोधपुछ र योनी परीक्षणपछि चिकित्सकले संक्रमण भएको भनेर औषधि लेखिदिइन्। पहिलो पटक स्त्री रोग विशेषज्ञलाई भेट्न गएकी सुनितालाई के कारण संक्रमण हुन्छ भन्ने कुरा बुझ्न मन लाग्यो। उनले आफूले उपचार गराइरहेकी चिकित्सकसँग प्रश्न राखिन्। तर निकै हतारमा देखिएकी चिकित्सकको सामान्य जवाफ आयो, ‘कहिलेकाहीँ यस्तै हुन्छ।’
चिकित्सकको व्यवहारबाट उनी निकै निरास थिइन्। यतिञ्जेल कोठामा अर्को बिरामीलाई बोलावट आइसकेको थियो। उनी आफ्नो चिकित्सकसँग के खान हुन्छ, हुँदैन ? त्यो जान्न चाहन्थिन्। संक्रमणको बेला अपनाउनुपर्ने सावधानीको विषयमा थप जानकारी लिन चाहन्थिन्। तर निरास भएर फर्किइन्।
औषधि पसल पुगेपछि मात्र उनलाई थाहा भयो, चिकित्सकले प्रस्ताव गरेको औषधि योनीभित्र राख्नुपर्ने रहेछ। फार्मेसीका कर्मचारीले खाने र योनीमा राख्ने औषधि उनलाई चिनाइदिए।
योनीमा राख्ने ट्याब्लेट देखेपछि उनले फार्मेसीका कर्मचारीलाई कसरी राख्ने भनेर प्रश्न गरेकी थिइन्। कर्मचारीले पनि यहाँ एउटा पाइप छ, त्यसैले धकेलेर राख्नूस् भनेर पठाइदिए। घर आएपछि साँझ उनलाई औषधि कसरी राख्ने अन्योल भयो।
खोलमा लेखिएको विवरण पढेर उनले जसोतसो औषधि प्रयोग गरिन्। तर औषधिले के काम गर्छ, उनको मनमा अन्योल कायम रहिरह्यो।
लगातार तीन/चार दिन उक्त औषधि प्रयोग गरिरहँदा एक दिन बिहान पिसाब फेर्दा औषधि छोक्रा बनेर झर्यो। सुरुमा उनी निकै आत्तिएकी थिइन्। त्यसपछि आफूले चिनेको अर्को एक डाक्टरलाई फोन गरेर परामर्श मागिन्। ती डाक्टरले योनीमा हालेको औषधि त्यसरी नै विस्तारै पिसाब फेर्दा झर्ने बताएपछि उनको मन शान्त भयो।
उनी भन्छिन्, ‘अस्पतालमा डाक्टरले औषधिको नाम लेखिदिएपछि त्यो यसरी प्रयोग गर्ने, प्रयोग गर्दा कस्तो हुन्छ भनिदिए बिरामीलाई धेरै सहज हुन्छ।
उनी चिकित्सकले आफूलाई राम्रोसँग कुरा राख्ने मौका नदिएकोमा चित्त दुखाउँछिन्। ‘पिसाब फेर्दा औषधि निस्किन थालेपछि धेरै चिन्ता लागेको थियो। डर पनि निकै लाग्यो,’ उनले भनिन्, ‘मैले पो पढ्न जानेको थिएँ, चिनेका अन्य डाक्टर थिए। अलिक सहज भयो तर यही कुरा अर्को मान्छेसँग भएको भए ?’
०००
अस्पतालमा सेवा लिन पुगेका यी तीन पात्रले भोगेका समस्या त प्रतिनिधि घटना मात्र हुन्। सरकारीदेखि निजी अस्पतालसम्म उपचारका लागि पुग्ने बिरामीले पाइलापाइलामा सास्ती भोग्नु परेको हुन्छ। अस्पतालमा सेवाका विषयमा सहज रुपमा जानकारी दिने जनशक्ति नहुनेदेखि संकेतहरु नहुँदा बिरामीले समस्या भोग्नु परिरहेको बताउँछन् नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइराला। उनका अनुसार अस्पतालमा गेटबाट भित्र छिरेदेखि उपचार गरेर फर्कने समयसम्म सहजीकरण गर्ने कर्मचारी, संकेत र स्वयंसेवकहरु हुने हो भने धेरै सहज हुन्छ।
संकेत र सहजीकरण कर्मचारी नहुँदा मात्र होइन, चिकित्सकले दिने समयदेखि बिरामीसँग गर्ने संवाद र स्वास्थ्यकर्मीले गर्ने संवादसम्म पनि समस्या हुने गरेको बिरामीहरु बताउँछन्। ‘अस्पतालमा चिकित्सकले कम समय दिने, भाषाको समस्या हुने र अस्पतालको गेटदेखि टिकट काउन्टर, डाक्टरको कोठा, ल्याब र फार्मेसीसम्म पुग्न अलमल हुने गरेको छ,’ पाटन अस्पतालमा उपचारका लागि पुगेका काभ्रे, चौंरीदेउरालीका जीवन गौतमले भने।
डाक्टर र बिरामीबीच हुने संवादलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा मेडिकल कलेजहरूले आफ्नो पाठ्यक्रममा समावेश गराउनुपर्ने त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्वडीन डा जेपी अग्रवालको भनाइ छ। उनी बिरामी र डाक्टरबीच संवादको शैलीलाई प्रभावकारी बनाउन सकेको खण्डमा आधा रोगको उपचार कम औषधिको खपतमा गर्न सकिने बताउँछन्। ‘बिरामी र डाक्टरबीच राम्रो संवाद नहुँदा रोग पहिचानमा समस्या देखिएको छ,’ उनले भने।
मानिसहरू समस्या परेपछि अस्पताल धाउने गर्छन्। बिरामीले आफूलाई परेको समस्याको विषय विस्तृतमा खुलेर बताएन भने चिकित्सकहरूलाई रोग पहिचान गर्न गाह्रो पर्छ। यस्तो अवस्थामा चिकित्सक र बिरामीबीच हुने संवादले नै धेरै कुरा बाहिर ल्याउन सकिने उनको भनाइ छ।
‘बिरामीले खुलेर आफ्नो कुरा राख्दा रोग पहिचान छिटो हुन्छ। बिरामी र डाक्टर दुवैको समय बच्छ। साथै बिरामीको खर्च पनि कम हुन्छ। राम्रोसँग आफ्नो कुरा सेयर नगर्दा रोग पहिचान हुँदैन। रोग पहिचान नभएपछि पटकपटक अस्पताल धाइरहनुपर्ने बाध्यता हुन्छ, जसले गर्दा खर्च बढी हुन्छ। त्यसकारण बिरामीले आफ्ना कुरा लुकाउन हुन्न,’ उनले भने।
उनी अस्पतालमा बिरामी अलमलमा पर्नुपर्ने लगायतका समस्या व्यवस्थापकीय समस्या भएको बताउँछन्। ‘अस्पतालहरूले त्यस्ता समस्या हल गर्न सोधपुछ डेस्क अनिवार्य राख्नुपर्छ,’ उनी भन्छन्, ‘अस्पतालले सही ठाउँमा सही मान्छे राख्ने हो भने त्यस्ता समस्या नै पर्दैन। व्यवस्थापन चुस्त हुने हो भने खासमा यो कुरा समस्या नै होइन। अस्पतालमा यस्ता समस्या व्यवस्थापन गर्नको लागि सम्बन्धित ज्ञान भएको जनशक्ति आवश्यक हुन्छ। त्यसमा अस्पतालले जोड दिनुपर्छ।’
अस्पतालमा यी समस्या भए पनि समस्या समाधानका लागि छुट्टै थप जनशक्ति राख्न सम्भव नभएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा दिनेश काफ्ले बताउँछन्। ‘सरकारी वा शिक्षण अस्पतालमा अलमल हुने या भाषा नबुझ्ने समस्या बढी हुन्छ। तर अहिले त्यसको लागि छुट्टै जनशक्ति छुट्याउने क्षमता हाम्रो अस्पतालमा चाहिँ छैन। सक्ने अस्पतालले त्यो गर्दा राम्रो नै हुन्छ,’ उनले बाध्यता सुनाए।
उपभोक्ता हित संरक्षण समितिकी उपमहासचिव कुमारी खरेल सबैले आ–आफ्नो ड्युटी पूरा गर्ने हो भने यस्तो समस्या कम हुने बताउँछिन्। उनी भन्छिन्, ‘यस्ता समस्या कम गर्न अस्पतालले अनिवार्य रुपमा हेल्प डेस्क राख्नुपर्छ। अस्पताल भित्र पुगेर कुनै बिरामी अलमलिएको जस्तो गर्ने बित्तिकै सोधेर सहयोग गरिदिने मान्छे हुनुपर्छ। अस्पतालमा काम गर्ने सबैले आ–आफ्नो ड्युटी पूरा गर्ने हो भने यस्तो समस्या कम हुन्छ।’
त्यस्तै, जनस्वास्थविद् डा शरद वन्त स्वास्थ्य सेवा प्रदायकहरुले बिरामीसँग कसरी संवाद गर्ने विषय संवेदनशील भएको बताउँछन्। बिरामी अस्पतालमा अलमल हुने, उपचारमा समस्या हुने या सेवा प्रदायकले बिरामीको कुरा नसुन्ने सबै समस्या कम गर्न प्रदायकहरुले जिम्मेवारी बोध गर्नुपर्नेमा उनको जोड छ। ‘हाम्रो जस्तो देशमा प्रायः स्वास्थ्य संस्थाहरुमा सेवाग्राहीहरुको भीड हुन्छ। विशेष गरेर निजी स्वास्थ्य संस्थाहरुमा समयको पनि निकै महत्व हुन्छ, किनकि हरेक समय पैसासँग जोडिन्छ। एउटा समयमा दुई जना बिरामी हेर्न सक्यो भने दुई जनाको पैसा पाइन्छ, एउटा मात्रै हेर्ने हो भने त्यहाँ आम्दानी संकुचित हुन सक्छ। त्यस्ता खाले मनोविज्ञानले पनि यो कुरामा काम गरेको हुन सक्छ,’ उनी भन्छन्।
उनी सेवाग्राहीहरुलाई के प्रश्न सोध्ने भन्ने ज्ञान नहुँदासमेत यो समस्या निम्तिने बताउँछन्। उनी भन्छन्, ‘कतिपय सेवाग्राहीहरुलाई के प्रश्न सोध्ने भन्नेसमेत थाहा हुँदैन, तर जब सेवाग्राहीलाई अफ्ठ्यारो पर्छ तब मैले यो कुरा सोध्न पाइनँ भन्ने महसुस हुन्छ। बहुसंख्यक सेवाग्राहीहरुलाई पछि आएर यस्तो महसुस हुँदा त्यो सूचना प्राप्त गर्ने स्रोत पनि हुँदैन। त्यसले बिरामीलाई धेरै असहज हुन सक्छ।’
स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा मदन उपाध्याय बिरामीका यी समस्या समाधानका लागि अस्पतालहरुमा अनिवार्य रुपमा कुन सेवा कहाँकहाँ कसरी लिन सकिन्छ भन्ने शुल्कसहितको विवरण भएको वडापत्र हुनुपर्ने, संकेत चिह्नहरु हुनुपर्ने र सहायता कक्ष हुनुपर्ने बताउँछन्। उनका अनुसार सरकारले बनाएको न्यूनतम सेवा मापदण्डमा यी विषयहरु प्रष्ट रुपमा लेखिएका छन्।
उनले सरकारी अस्पतालहरुमा क्रमशः यी व्यवस्थाहरु लागू हुँदै गइरहेको जानकारी दिए। तर अस्पतालहरुको संरचना पुराना भएकाले न्युनतम सेवा मापदण्ड लागू गर्न भने केही समस्या भएको उनी स्वीकार्छन्। ‘हाम्रा अस्पतालका संरचनाहरु निकै पुरानै छन्। त्यसैले अहिले भर्खरै बनेका मापदण्डहरु कार्यान्वयन हुन केही समय लाग्छ। त्यसकारण चुनौती भएको हो।’
डा भगवान कोइराला अस्पतालमा भएका साइनेज र वास्तविकता मेल खानुपर्ने बताउछन्। ‘साइनेज एकतिर देखाएको हुन्छ अनि भवन अर्कोतिर हुन्छ। त्यस्ता साइनेज ठिक ठाउँमा र व्यवस्थित तरिकाले राखिनुपर्छ। त्यस्तै हेल्प डेस्क पनि महत्वपूर्ण हुन्छ। साथै, हाम्रो जस्तो देशमा स्वयंसेवकहरु आवश्यक हुन्छन्। स्कुलका केटाकेटी या सामाजिक कार्य पढ्ने विद्यार्थीहरुको प्राक्टिकल बनाइदिने हो भने धेरै सहज हुन्छ,’ उनले भने।
चिकित्सकलाई कम्युनिकेसन स्किल पढाउन आवश्यक छ: डा जेपी अग्रवाल
सञ्चारसिप भनेको कम्युनिकेसन स्किल हो। डाक्टर, नर्सलगायत जुनसुकै स्वास्थ्यसँग सम्बन्धित पेसा गर्नेमा सञ्चारसिप हुनुपर्छ। सञ्चारसिप पाठ्यक्रमको एउटा अंग हुनुपर्छ। बिरामी र स्वास्थ्यकर्मीको बीचमा हुने दोहोरो संवादलाई सञ्चारसिप भनिन्छ। सञ्चारसिप भनेर, गरेर या सुनेर मात्रै आउँदैन। यसको लागि तालिम हुनुपर्छ।
पाठ्यक्रममा व्यवस्था हुनुपर्छ। हामीले धेरै मिहिनेत गरेर २००८ देखि आईओएमको पाठ्यक्रममा सञ्चारसिपको तालिमलाई समावेश गर्न सफल भयौं। अरु शिक्षण संस्थामा फरक तरिकाले यसलाई प्रयोगमा ल्याउन खोजिएको देखिन्छ तर जति हुनुपर्ने हो त्यति भएको छैन।
आईओएममा आवद्ध सबै कलेजले यसको पढाइ गर्दैनन्। कलेजमा पढाइ नै हुँदैन अनि डाक्टरहरूले व्यवहारमा कसरी लागू गर्छन् ? मैले यस्तो गर्नुपर्छ, बिरामीलाई सुन्नुपर्छ भन्ने ज्ञान कसरी हुन्छ ?
बिरामीसँग कसरी संवाद सुरु गर्ने (बिरामीको नाम सोध्ने, अभिवादन गर्ने, गाउँ सोध्ने, भलाकुसारी गर्ने), बिरामीलाई सहज बनाउन कोसिस गर्ने, त्यसपछि बिरामीलाई के भएको हो सोध्ने, बिरामीले के सोचिरहेको छ बुझ्न कोसिस गर्ने, अनि त्यसपछि के भएको हो भन्ने पत्ता लगाउनेसम्मका कुरा संवादभित्र पर्छन्। यसमा पनि सबैभन्दा महत्वपूर्ण कला भनेको सुन्ने नै हो। बिरामीको कुरा जति सुन्यो, त्यति रोगको विषयमा जानकारी हुन्छ।
स्वास्थ्यकर्मीले दुई वटा कारणले बिरामीको कुरा सुन्दैनन्। पहिलो अज्ञानता हो। डाक्टरलाई बिरामीको कुरा कसरी सुन्ने, कसरी कुरा गर्ने भन्ने थाहा नहुँदा यो समस्या हुन्छ। बाहिरी देश जस्तो अमेरिका, बेलायततिर यो स्किल नियमित हुनैपर्छ। यो नहुने हो भने जागिर नै पाइँदैन। सबैभन्दा ठूलो कुरा नै त्यही हो।
दोस्रो, कुरा भनेको कामको ओभरलोड हो। मानौं, ओपीडीमा जम्मा चार जना डाक्टर छन्। ओपीडीमा बिरामीको भीड हुन्छ, उसले सबै बिरामी हेरेर सक्नुपर्ने हुन्छ। तर यो भन्दैमा बिरामीलाई दिइनुपर्ने समय घटाउन मिल्दैन। त्यो भनेको अस्पतालको व्यवस्थापकीय समस्या हो।
कति समय दिने भन्ने कुरा बिरामीको अवस्था हेरेर हुन्छ। तर सामान्यतया यति नै भन्ने छैन। नयाँ केस छ भने त्यसमा अलिक बढी समय लाग्छ। पुरानो हो भने कम लाग्न सक्छ। अनि रोगको प्रकारमा पनि भर पर्छ। समग्रमा हेर्ने हो भने एउटा बिरामीलाई १५ देखि ३० मिनेटको समय दिइनुपर्छ। नेपालका सबै शिक्षण संस्थाले सञ्चारसिप पढाउनु अनिवार्य छ। यसको विकल्प छैन। डाक्टर र बिरामीबीच राम्रो कुराकानी हुँदा रोग पहिचानमा पुग्न सजिलो हुन्छ। सहज र छिट्टै रोग पहिचान हुन्छ। कुराकानी कम हुँदा रोग पहिचान गलत हुने सम्भावना बढी हुन्छ।
दक्षिण एसियाली मुलुकमा कम्युनिकेसन स्किल राम्रो भएका देशमध्ये नेपाल अगाडि नै आउँछ। भारत लगायतका देशमा हाम्रोभन्दा कमजोर अवस्था छ।
सबैखाले स्वास्थ्यकर्मीको शिक्षाको एउटा महत्वपूर्ण पक्ष भनेको ‘कम्युनिकेसन स्किल’ हो। त्यसैले यो सबैको पाठ्यक्रममा समावेश हुन जरुरी छ।
सेवा प्रदायकलाई जिम्मेवारीवोध हुनुपर्छ: जनस्वास्थ्यविद् डा शरद वन्त
स्वास्थ्य संस्थाहरुको संरचना निर्माण गर्ने मापदण्ड छ। त्यही अनुसार संरचना बनाइएको छ या छैन त्यसको अनुगमन हुनपर्छ। मापदण्ड अनुसारका संरचना र व्यवस्था हुने हो भने धेरै समस्या आफैं हल हुन्छ। अस्पतालमा बिरामीले सहज रुपमा सेवा लिने वातावरण बनाउने भनेको अस्पतालको व्यवस्थापकीय पाटो हो। जस्तो सूचनाहरु राम्रोसँग राखिदिने, सहयोगको लागि हेल्प डेक्सहरु बनाइदिने लगायतको व्यवस्थापकीय पाटो सुधार गर्न सकेमा पनि सेवाग्राहीहरुले समस्या झेल्नु पर्दैनथ्यो होला।
स्वास्थ्य सेवा प्रदायकहरुले बिरामीसँग कसरी संवाद गर्ने विषय महत्वपूर्ण हन्छ। यो संवेदनशील विषय हो। सबै प्रदायकले बिरामीलाई यथेस्ट समय दिनु नै पर्छ। यथेस्ट समय दिएको छैन भन्ने जनगुनासो मूल्यांकन गर्न पनि कठिन छ। पहिलो कुरा त कति समय दिने भन्ने कुरा आउँछ। हाम्रो जस्तो देशमा प्रायः स्वास्थ्य संस्थाहरुमा सेवाग्राहीहरुको भीड हुन्छ।
विशेषगरी निजी स्वास्थ्य संस्थाहरुमा समयको पनि निकै महत्व हुन्छ, किनकि हरेक समय पैसासँग जोडिन्छ। एउटा समयमा दुई जना बिरामी हेर्न सक्यो भने दुई जनाको पैसा पाइन्छ, एउटा मात्रै हेर्ने हो भने त्यहाँ आम्दानी संकुचित हुन सक्छ। त्यस्ता खाले मनोविज्ञानले पनि यो कुरामा काम गरेको हुन सक्छ। तर कतिपय सेवाग्राहीहरुलाई के प्रश्न सोध्ने भन्नेसमेत थाहा हुँदैन। त्यस कारण सेवाग्राहीबाट त्यस्तो धेरै माग पनि हुँदैन। तर जब सेवाग्राहीलाई अफ्ठ्यारो पर्छ तब मैले यो कुरा सोध्न पाइनँ भन्ने महसुस हुन्छ। बहुसंख्यक सेवाग्राहीलाई पछि आएर यस्तो महसुस हुँदा त्यो सूचना प्राप्त गर्ने स्रोत पनि हुँदैन। पहुँच भएकाहरुले जहाँ र जहिले पनि सूचना प्राप्त गर्न सक्छन्।
तर आम बिरामीहरु, बिरामीको आफन्तहरु सूचनाको स्रोतको पहुँचमै हुँदैनन्। त्यसले बिरामीलाई धेरै असहज हुन सक्छ। यसको कुनै किसिमको नियम निर्देशिकाभन्दा पनि सेवा प्रदायकको जिम्मेवारीपनले ठूलो भूमिका निर्वाह गर्छ। सेवा प्रदायकहरु कति इमान्दार र जिम्मेवार छन् भन्ने कुराले निर्धारण गर्छ। सेवाग्राहीहरुमा पनि अलिकति चेतना आउन जरुरी छ। एउटा बिरामीले आफूलाई के सूचनाको जरुरी छ र के चिजहरु अपेक्षा गर्ने भन्नेबारे सचेत हुन जरुरी छ।
यी सबै कुराको लागि महत्वपूर्ण पाटो भनेको हाम्रो स्वास्थ्य प्रणाली हो। यस्ता कुराहरुमा सेवा प्रदायक या सेवाग्राही दोष दिनुभन्दा पनि प्रणालीको बारेमा सचेत हुनुपर्छ। यी सबै कुरालाई निर्देशन दिने प्रणालीले हो। हाम्रो प्रणाली कस्तो नीतिमा आधारित छ, जनताको स्वास्थ्यप्रति कति जिम्मेवार छ भन्ने कुराले धेरै अर्थ राख्छ। त्यस कारण हामीले स्वास्थ्य प्रणाली बलियो बनाउनुपर्छ।
मन्त्रालयले काम गरिरहेको छ: डा मदन उपाध्याय
बिरामीले सहज रुपमा उपचार लगायतका स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने विषयमा स्वास्थ्य मन्त्रालयले काम गरिरहेको छ। हामीसँग भएको न्यूनतम सेवा मापदण्डमा प्रष्ट रुपमा अस्पतालमा संकेतहरुको व्यवस्था हुनुपर्ने भनिएको छ। अस्पतालहरुमा नागरिक बडापत्र अनिवार्य रुपमा हुनुपर्छ। जसमा शुल्कसहित जिम्मेवार व्यक्ति को हो ?
समयअवधि लगायतको कुरा स्पष्ट हुनुपर्छ। अस्पतालहरुमा विभिन्न स्थानमा संकेतहरुको व्यवस्था पनि राम्रोसँग गरिएको हुनुपर्छ। जसअन्तर्गत बाटो देखाउने मार्कहरु, विभिन्न खतराका संकेतहरु, कुन स्थानमा के छ कसरी जाने लगायतका संकेत हुनुपर्छ।
मन्त्रालयले वर्षमा कम्तीमा दुई पटक स्वास्थ्य चौकीदेखि जिल्ला अस्पताल, संघीय अस्पताल लगायतका जति पनि अस्पतालमा न्यूनतम सेवा मापदण्ड लागू गरेका अस्पतालमा मन्त्रालयले समीक्षा पनि गर्छ। त्यसको स्कोर हेरेर, ग्याप पहिचान गरेर न्यूनीकरण गर्ने प्रक्रियामा जान्छौं। सरकारीसँगै निजी अस्पतालमा पनि न्यूनतम सेवा मापदण्ड लागू गर्ने जानकारी गराएका छौँ। मन्त्रालयले दुई पटक निजी र शिक्षण अस्पतालहरुलाई यस विषयमा अभिमुखीकरण पनि गरिसकेको छ। अब नियमन र अनुगमन गर्ने पाटो बाँकी रह्यो। त्यो पनि क्रमिक रुपमा गर्ने कोशिस गर्नेछौँ।
न्यूनतम सेवा मापदण्ड लागू गर्नुभन्दा पहिले साइनेज या नागरिक बडापत्रको विषयमा कसैलाई खासै जानकारी नै थिएन। अहिले धेरै सरकारी अस्पतालहरुमा यो लागू भएको छ। फरकफरक अस्पतालमा भिन्नभिन्न किसिमका संकेतहरु भने प्रयोग भएका छन्। सबैको एकरुपता हुन भने सकेको छैन। यसलाई बलियो बनाउन जरुरी छ।
न्यूनतम सेवा मापदण्डमा सहायता कक्षको प्रावधानको विषयमा पनि राखिएका छन्। हरेक बिरामीको लागि एक जना सहायक उपलब्ध गराउनु सम्भव नै हुँदैन। तर मानिसहरु धेरै आउजाउ गर्ने स्थानमा केही जनशक्ति राख्न सकिन्छ। यसका साथै बिरामी पक्षले पनि आफू कहाँ जाँदैछु के गर्ने हो भन्ने विषयमा जानकारी लिन आवश्यक हुन्छ। बढी भीड हुने अस्पतालमा बिरामी कुरुवाले सोधेर जाने या बिरामी आफैंले पनि सहयोग माग्नुपर्छ। स्पष्ट सूचना दिने–लिने कुरामा बिरामी र सेवा प्रदायक दुवैको उही भूमिका हुन्छ। सबैभन्दा ठूलो कुरा संवाद हो।
अर्को कुरा भनेको नेपालमा अझै पनि धेरै अस्पतालहरु अस्पतालकै लागि बनेको भवनमा छैनन्। हाम्रा अस्पतालका संरचना पुरानै छन्। त्यसैले अहिले भर्खरै बनेका मापदण्डहरु कार्यान्वयन हुन समय लाग्छ। त्यस कारण चुनौती भएको हो। अस्पतालकै लागि भवन बनाउने हो भने यसका लागि मापदण्ड छन्। त्यस कारण यस्ता समस्या आउँदैनन्। तर पहिले बनेका भवन छन् र अहिले बनेका मापदण्ड र नियमहरु लागू हुन त समय लाग्छ।
बिरामीमैत्री हुन अस्पतालका थुप्रै पाटा छन्। संस्था मात्रै राम्रो भएर हुँदैन, संस्थामा काम गर्ने सबै कर्मचारी जिम्मेवार हुनुपर्छ र सेवाग्राहीले पनि यसको लागि बिरामी मैत्री हुनको लागि सहयोग गर्नुपर्छ। पहिलेभन्दा अस्पतालहरु धेरै नै बिरामीमैत्री भएका छन् तर पनि काम गर्न धेरै बाँकी छ र चुनौती पनि उत्तिनै छ।