काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले चौतर्फी आलोचना भएपछि कोरोना भाइरसको संक्रमण परीक्षणमा प्रयोग गर्दै आएको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) परीक्षण विधि बन्द गर्ने तयारी गरेको छ।
मन्त्रालय स्रोतका अनुसार मन्त्रालयले आरडिटी बन्द गर्ने वा कम गर्ने भन्ने विषयमा जनस्वास्थ्य विज्ञसँग छलफल गरिरहेको छ।
‘आडिटीका विषयमा धेरै नै आलोचना आइरहेकाले मन्त्रालयले यसलाई गम्भिर रुपमा लिँदै बन्द गर्ने वा कम गर्ने भन्ने विषयमा छलफल अगाडि बढाएको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘यद्यपि मन्त्रालयका केही कर्मचारीले भने आरडिटी पुरै बन्द गर्न नहुने भन्दै आरडिटीका पक्षमा बोल्दै आइरहेका छन्।’
स्वास्थ्य मन्त्रलायका प्रवक्ता डा जागेश्वर गौतमले मन्त्रालयले पिसिआर परीक्षण नै बढाउने योजना बनाएको भन्दै आरडिटीका विषयमा के गर्ने भन्ने छलफल चलिरहेको जानकारी दिए।
‘पिसिआर परीक्षण नै बढाउनुपर्छ भन्नेमा दुई मत छैन,’ उनले भने, ‘आरडिटीका विषयमा मन्त्रालयले विभिन्न चरणमा विज्ञहरुसँग छलफल गरिरहेको छ। तर आरडिटी परीक्षण बन्द नै गर्ने भन्ने पक्षमा मन्त्रालय पुगिसकेको छैन।’
उनले हाललाई १४ दिन वा सोभन्दा बढी समय क्वारेन्टाइनमा बसेका व्यक्ति (जहाँ सो समयमा नयाँ व्यक्ति थपिएका छैनन्)लाई आरडिटी परीक्षण गरेर पठाइने जानकारी दिए।
जेठ २० गते स्वास्थ्य मन्त्रालयले जारी गरेको ‘नेशनल टेष्टिङ गाइडलाइन कोभिड१९’ मा क्वारेन्टाइनमा बसेका लक्षण नदेखिएका व्यक्तिलाई १४ दिनपछि पिसिआर परीक्षण नगरी आरडिटी परीक्षण गरी घर पठाउने उल्लेख छ। त्यस्तै सोही गाइनलाइनमा आइसोलेनमा बसेका लक्षण देखिएका कोरोना संक्रमितलाई लक्षण निको भएको ३ दिनपछि पिसिआर परीक्षण नगरी डिस्चार्ज गर्ने समेत उल्लेख गरिएको छ।
तर विज्ञहरुले भने गाइडलाइनमा रहेको यो व्यवस्था अवैज्ञानिक रहेको भन्दै आलोचना गरिरहेका छन्।
नेपालमा देखिएका कोरोना संक्रमितमध्ये ८० प्रतिशत बढी संक्रमित क्वारेन्टाइनमा बसेका व्यक्ति भएको मन्त्रालयले नै बताउँदै आएको छ। यस्तो अवस्था तिनै क्वारेन्टाइन बसेका व्यक्तिको पिसिआर परीक्षण नगरी घर पठाउने नीति आएपछि मन्त्रालयले अवैज्ञानिक गाइडलाइन बनाएको भन्दै आलोचना भएको हो।
पछिल्लो समय मन्त्रालयले जारी गरेका गाइडलाइन तथा नीति र मन्त्रालयले कार्यान्वयनमा ल्याइरहेको क्रियाकलाप बाझिन थालेका छन्। विज्ञहरुसँग छलफल नगरी स्वास्थ्य मन्त्री निकट केही व्यक्तिले कोठामा बसेर मापदण्डहरु बनाउँदा मन्त्रालय विवादमा तानिने गरेको जनस्वास्थ्य विज्ञहरुको आरोप छ।
आरडिटी परीक्षण बन्द गर्ने वा कम गर्ने विषयमा आयोजित बैठकमा सहभागी एक जनस्वास्थ्य विज्ञ भन्छन्,‘मन्त्रालय आफँै के गर्ने भन्ने विषयमा अझै अलमलमा छ। आज भएको छलफल चाँही मन्त्रालयले परीक्षण गाइडलाइन ल्याउनु भन्दा पहिला नै गर्नुपर्ने थियो। जसका कारण अवैज्ञानिक गाइडलाइन आउने थिएन। हामीले उहाँहरुलाई पिसिआर परीक्षणलाई नै जोड दिन सल्लाह दिएका छौँ।’
बिहीबार नै नेपाल जनस्वास्थ्य प्रतिष्ठानले पनि मन्त्रालयलाई ४ विषयमा ४२ बुँदे सुझावसहितको ज्ञापनपत्र बुझाएको थियो। जसमा क्वारेन्टाइन र आइसोलेनमा बसेका सबै व्यक्तिको पिसिआर परीक्षण गरेर मात्र घर पठाउन सुझाव दिइएको छ।
यो पनि :