नर्स बिमला श्रेष्ठ एकाबिहानै हतार–हतार ड्युटीका लागि घरबाट निस्किइन्। गेटमा नपुग्दै पछडिबाट ‘मम्मी’ भनेको आवाज आयो। फर्किएर हेर्दा तेस्रो तलाको झ्यालबाट साढे दुई वर्षको छोराले हात हल्लाइरहेको थियो। छोरालाई त्यो अवस्थामा देख्दा उनको मन चिसो भयो, शरीर नै सिरिंग भयो।
बिमला सम्झिन्छिन्, ‘अति आवश्यक परेको समयमा बाहेक बिदा बस्न मिल्दैन। साना छोराछोरीसँग समय बिताउन मन त लाग्थ्यो नि। तर के गर्नु, आफू बिदा बस्दा साथीलाई डबल ड्युटी पथ्र्यो।’ विगत ३५ वर्षदेखि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा कार्यरत नर्स बिमलालाई आफ्नो जिम्मेवारी सबैभन्दा ठूलो लाग्छ।
ललितपुरको कुपन्डोलमा जन्मिएकी उनले २०४१ सालमा एसएलसी पास गर्दासम्म के पढ्ने भन्ने सोचेकै थिइनन्। उनमा सेवाको भावना भने थियो। नर्स पढ्यो भने कहाँसम्म पुगिएला र के होला भन्ने नसोचेरै उनले महाराजगञ्ज नर्सिङ क्याम्पसमा पीसीएल नर्सिङ पढ्न सुरु गरिन्। ‘त्यो बेला महाराजगञ्ज नर्सिङ क्याम्पसको पढाइ वीर अस्पतालमा हुन्थ्यो,’ उनी सम्झिन्छिन्, ‘एक वर्ष वीरमा पढेपछि बाँकी दुई वर्षको पढाइ टिचिङमै भयो। २०४४ साल भदौ २६ गतेबाट मेरो पढाइ सकियो।’
त्यो समयमा टिचिङ अस्पतालमा नर्सको कमी थियो। त्यसकारण भदौ २७ गतेबाटै बिमलासहित उनका साथीहरु अनमीको पोस्टमा टिचिङ अस्पतालमा नियुक्त भए। उनी भन्छिन्, ‘त्यतिबेला टिचिङ अस्पतालका केही भवनहरु भर्खरै बनेका थिए। अस्पताल पनि निकै सफा थियो। त्यही भएर पनि हामीलाई टिचिङ अस्पताल मन परेको होला।’
त्यहाँ काम गर्दागर्दै उनले २०४७ सालमा स्थायी नियुक्ति लिइन्। नर्सिङ पढ्दादेखि काम सुरु गरेपछि पनि आफूलाई घर–परिवारबाट पूर्ण साथ–सहयोग रहेको उनी बताउँछिन्। परिवारले हौसला दिएर नै उनले २०६४ सालमा नर्सिङमा ब्याचलर पढिन्।
टिचिङ अस्पतालमा सुरुवाती चरणमा पोस्टअपमा ड्युटी गरेकी बिमलाले करिब ५÷६ वर्षपछि आइसीयूमा काम गर्न पाइन्। अस्पतालमा आइसीयूमा बेड थपियो, वार्ड थपियो तर यतिका वर्षसम्म पनि उनी आइसीयूमै काम गरि रहेकी छन्। हाल उनी आइसीयूको नर्सिङ इन्चार्ज हुन्।
अहिले बिमलासहित विभागीय डाक्टर र नर्सहरु मिलेर क्रिटिकल केयरलाई कसरी अन्तर्राष्ट्रिय स्तरको बनाउने भनेर काम गरिरहेका छन्। अहिले देशभरका क्रिटिकल केयरमा काम गर्ने नर्स र डाक्टरहरुको एसोसिएसन छ। जसले आइसीयूमा आउने बिरामीको केयर कसरी गर्ने, के–के कुरामा ध्यान दिने, रिसर्चहरु गर्ने, नर्सको सिप विकासमा सहयोग गर्ने जस्ता कार्यक्रमहरु गर्ने उनी बताउँछिन्।
आइसीयूमा टिम वर्क बिना कुनै पनि काम सम्भव नरहेको उनको भनाइ छ। ‘क्रिटिकल केयरलाई गुणस्तरीय बनाउन यहाँ बाहिरका थ्यौरीहरु ल्याएर प्राक्टिकलमा ढाल्ने काम हुन्छ। त्यसले राम्रो आउट कम दिन्छ। जसका कारण क्रिटिकल अवस्थामा भएका बिरामीहरुमा थोरै सुधार आउँदा पनि खुसी लाग्छ,’ उनले भनिन्।
तीन दशकपछि पाएको त्यो अवार्ड
अस्पतालमा भर्ना भएका सबै बिरामी निको भएर घर फर्किउन् भन्ने चाहना हरेक नर्सलाई हुन्छ। काम गर्दागर्दै बिरामीहरुसँग एक हिसाबले भावानात्मक सम्बन्ध पनि बन्छ। बिमला आइसीयूको एक बिहान सम्झिन्छिन्, ‘एक पटक वीरगञ्जमा गोली लागेको केस आएको थियो। ती बिरामीले मलाई बिहानै हातको इसाराले बोलाउनुभयो। नजिकै जाँदा उहाँले दुई हजार रुपैयाँ मतिर तेस्र्याउनुभयो। हामीले आइसीयूका बिरामीलाई पैसा लगायतका केही चिज पनि साथमा राख्न दिँदैनौं। मैले अस्पतालले मलाई कामको तलब दिन्छ भनेर उहाँसँग पैसा लिइनँ। र, उहाँको कुरुवालाई सोधें, ती बिरामीले अघिल्लो दिन नै पैसा मागेर राख्नुभएको रहेछ।’
क्रिटिकल केयरमा काम गरेको तीन दशक बितेपछि गत जेठमा उनी नाइटिंगेल नर्सिङ अवार्डबाट सम्मानित भइन्। अन्तर्राष्ट्रिय नर्सिङ दिवसको सन्दर्भमा हेल्थ एट होम, मेड प्रो–इन्टरनेसनल प्रालि, एनसीसीडीएफ, सघन क्रिटिकल केयर एसोसिएट्स, नेपाल भेन्टिलेटर्स सर्भिसेसले संयुक्त रूपमा उनलाई ५० हजार एक रुपैयाँ नगद पुरस्कारसहित नर्सिङ अवार्डबाट सम्मान गरेको थियो।
बिमला भन्छिन्, ‘मनमा राम्रो सोचेर आफ्नो काममा निरन्तर लागिरहने हो भने कुनै दिन मूल्यांकन हुने रहेछ। नर्सिङ अवार्ड पाएर झनै कर्मशील भएर काम गरिरहने हौसला मिलेको छ।’
सरकारलाई सुझाव
सरकारले नर्सलाई सेवा–सुविधा थप गर्नुपर्ने सुझाव दिन्छिन् बिमला। नर्सहरुको तलब–भत्ता बढाएमा विदेश जाने नर्सको संख्या घट्ने उनी बताउँछिन्। ‘अन्य देशमा यही पेसामा राम्रो कमाइ हुन्छ। तर नेपालमा त्यस्तो अवस्था छैन। सरकारी अस्पतालमा राम्रो सेवा–सुविधा भए पनि धेरै ठूलो प्रतिस्पर्धा हुन्छ। अझै पनि धेरै नर्स कम तलबमा काम गर्न बाध्य छन्। यतातिर सरकारको ध्यान जान जरुरी छ,’ उनी भन्छिन्, ‘अहिलेका नर्सहरु टेक्नोलोजीको हिसाबले पनि अगाडि छन्। दुःख गरेर पढ्नुपर्छ। न्यून तलबमा काम गर्नुपर्दा सबैलाई दुःख लाग्छ नै।’
नेपालभर क्रिटिकल केयरमा राम्रो तरिकाबाट काम होस् भनेर मिहिनेत गरिरहेका उनी र उनको टिमलाई देशमै भएका स्रोत–साधनहरुको सदुपयोग गरी नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरमै उपचार सेवा दिने रहर भएको बिमला बताउँछिन्।