अहिले वर्ल्डकप चलिरहेको छ। तपाईं-हामीमध्ये धेरै मध्यरातमा पनि निद्राको पर्वाह नगरी फुटबल हेरिरहेका हुन्छौँ। यतिबेला मानिसहरू विभिन्न देश तथा खेलाडीको समर्थनमा खुलेर जर्सी समेत लगाइरहेका छन्।
खेलकुद स्वास्थ्यका दृष्टिकोणले एकदमै फाइदाजनक पनि मानिन्छ। नियमित खेलकुदले शारीरिक तन्दुरुस्ती, बलियो मांसपेशी र स्वस्थ मुटु बनाउनुका साथै मानसिक तनाव कम गर्न पनि सहयोग पुर्याउँछ। रोग प्रतिरोधी क्षमता र आत्मबल बढाउन पनि खेलकुद महत्त्वपूर्ण मानिन्छ।
डा. सरोजकुमार गोहिवार ओम अस्पतालमा कार्यरत छन्। कामको व्यस्तताका बाबजुद पनि बडो आनन्दका साथ वर्ल्डकप हेरिरहेको उनी बताउँछन्। फुटबल वर्ल्डकपको समयमा मात्रै नभएर अन्य समयमा पनि उनी हेरिरहन्छन्। केही समयअगाडि भएको एनएमए कपमा पनि उनी सहभागी भएका थिए। त्यतिबेला उनको टिम फाइनलमा समेत पुगेको थियो।
म्यानचेस्टर युनाइटेडका समर्थक उनलाई मनपर्ने खेलाडी रोनाल्डो हुन् भने वर्ल्डकपमा उनी पोर्चुगलका समर्थक हुन्।
नेपालको तराई भू-भाग सिरहामा जन्मे-हुर्केका उनी विगत सम्झिँदै स्कुले जीवनमा जिल्लास्तरीय फुटबल प्रतियोगितामा धेरै पटक सहभागी भएको बताउँछन्। ‘स्कुल पढ्दा जिल्ला क्याप्टेन भएर पनि विभिन्न प्रतियोगितामा सहभागी भएको थिएँ,’ विगत सम्झँदै उनले भने, ‘त्यस्तै १० कक्षामा अध्ययनरत हुँदा कोकाकोला कप समेत खेलेको थिएँ।’
एमबीबीएस अध्ययनको सिलसिलामा युक्रेनमा हुँदा पनि फुटबल टिमको क्याप्टेन भएर धेरै पटक फुटबल खेलेको उनी सम्झन्छन्। त्यतिबेला पहिलो खेलमा भियतनामसँगको प्रतिस्पर्धामा उनको नेतृत्वमा विजय प्राप्त भएको थियो। जुन जीवनकै एक अविस्मरणीय क्षण भएको उनी बताउँछन्।
४ वर्षअगाडि फुटसल खेल्दा चोट लागेपछि उनले नेपाल मेडिकल कलेजमा शल्यक्रिया समेत गराउनुपरेको थियो। शल्यक्रियापश्चात् ८ महिना आराम गर्न भनिए पनि खेलप्रतिको प्रेमका कारण उनी ६ महिनामा नै पुनः खेल्न फर्किएका थिए।
सकभर समय व्यवस्थापन गरेर वर्ल्डकप हेरिरहेका उनी पोर्चुगलका समर्थक भए पनि इङ्ल्यान्डको खेल पनि नछुटाई हेर्ने गरेको बताउँछन्। ड्युटी हुँदा मोबाइलमा र नहुँदा टिभीमा वर्ल्डकप हेर्ने गरेका छन्।
फुटबल हेर्नु र खेल्नुले उनलाई धेरै खुसी दिन्छ। विगतमा रेजिडेन्ट चिकित्सकका रूपमा काम गर्दा पनि ३६ घण्टाको ड्युटीले फुटबलप्रतिको मोह घटाउन नसकेको उनको अनुभव छ।

