पेशाले दन्त चिकित्सक डा कपिल रिजाल लन्डनमा बस्छन्। लन्डनमै बसेर फिल्म निर्माणमा सक्रिय रुपमा काम गरिरहेका उनका सर्ट फिल्महरु कर्मा: लाइफ इज ए बुमर्याङ, यु गेट ह्वाट यु गिभ हरु युट्युबमा पनि हेर्न सकिन्छ। लन्डनमा उनको आफ्नै चार वटा डेन्टल क्लिनिकहरु पनि छन्। कपिल वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा भोला रिजालको छोरा हुन्। उनले निर्देशन गरेको नेपाली कथानक चलचित्र 'ह्यारीकी प्यारी' यही माघ २० गतेबाट देशभर प्रदर्शन हुँदै छ। त्यसै फिल्म र उनका रुचिको विषयमा स्वास्थ्यखबरको लागि अन्शु खनालले गरेको कुराकानी:
तपाईं त दन्त चिकित्सक, डाक्टरबाट फिल्म निर्देशकको यात्रा कसरी सुरु भयो?
म पहिल्यैबाट फिल्ममा चासो राख्थें। मैले डेन्टिस्ट पढ्दै गर्दा पनि सर्ट फिल्म बनाएको थिएँ। बिचमा मैले केहि म्युजिक भिडियोहरु पनि बनाएँ। घरमा सानैदेखि त्यही किसिमको वातावरण पनि भयो। बद्रि अधिकारी दाईहरुले नाटक गर्दा त्यहाँ जाने, सहयोग गर्ने गर्थें। फिल्मको कथा लेखनमा पनि मलाई पहिल्यै देखि चासो थियो। तिन चार वटा स्क्रिप्ट तयार भईसकेको थियो। कोभिडभन्दा अगाडि नेपाली टेक्निसियनहरु प्रयोग गरेर अंग्रेजी फिल्म बनाउने भन्ने तयारी थियो। कोरोना आयो, बन्द भयो। त्यसपछि नेपालमै बनाऊ भनेर त्यसैमा काम गर्न सुरु गरियो र फिल्म अघि बढ्यो।
घरमा त्यही किसिमको वातावरण थियो भन्नु भयो, तपाईं फिल्म निर्माणमा आउनु बुवाबाट प्रभावित भनेर बुझ्न मिल्यो?
मज्जाले सकिन्छ नि। मेरो बुवाबाट कत्ति धेरै मान्छे प्रभावित हुनुहुन्छ। म छोरो भएर, त्यही घरमा बसेर, हुर्किएर मैले बुवाबाट प्रभावित भएको छैन भन्न त मिल्दै मिल्दैन। मैले बुवाले गरेजस्तो आधा काम गर्न सकें भने पनि म निकै खुसी हुनेछु। त्यति मात्रै गर्ने हो भने पनि मेरो जीवन पूर्ण भएको हुन्थ्यो।
डाक्टर त भईहाल्नु भयो, संगै फिल्म मेकिङ बाहेक अरु केके कुरामा हजुरको रुची छ?
मैले यही ह्यारीकी प्यारीको लागि एउटा गीत पनि लेखेको छु, जुन फिल्ममै हेर्न सकिन्छ। त्यो बाहेक मलाई हिड्न, पढ्न, लेख्न मनपर्छ। म जीवनको सबै पाटोहरुमा रमाईलो गर्ने मान्छे हुँ।
सर्ट फिल्महरु बनाए पनि फिचर्ड फिल्ममा निर्देशकको रुपमा तपाईं डेब्यु गर्दै हुनुहुन्छ, कस्तो महसुस भइरहेको छ?
म फिल्मको लागि उत्सुक छु। त्यो संगै नर्भस पनि छु। अहिले मलाई आफूलाई मन परेको मान्छेलाई चिठी त दिईयो तर चिठीको उत्तर के आउला भनेर पर्खिएर बसे जस्तो महसुस भइरहेको छ। निर्देशकको हिसाबले छोटो या लामो फिल्म जस्तो भए पनि काम उत्तिनै हो। हरेक सट लिनुपर्छ। हरेक सानो सानो सटहरु जोडेर फिल्म बन्छ। लामो फिल्महरुमा अलिक बढी जिम्मेवारीहरु हुन्छ। फिचर्ड फिल्ममा धेरै कलाकार, धेरै टेक्निसियनहरु हुन्छन्। तर म यो कुरामा एकदमै भाग्यमानी छु, मैले यो फिल्ममा काम गर्दा कलाकार र टेक्निसियनहरुको निकै राम्रो साथ पाएको छु।
आफ्नो व्यस्त जीवनशैलीको बाबजुद पनि फिल्मका स्क्रिप्टहरु लेख्ने समय कहिले कहिले मिलाउनु हुन्छ? कुन समयमा लेख्नु हुन्छ?
आफूलाई चासो लागेको चिजमा समय आफैं मिल्ने रहेछ। आफूलाई मन परेको चिज गर्न कहिलेकसो अर्को चिजबाट समय छुट्याइनु पर्छ। म स्क्रिप्ट लेख्छु भनेर बस्दैमा लेखिँदैन। कन्सेप्ट आएको समयमा त्यसलाई लेखेर राख्यो अनि त्यसपछि त्यसलाई विस्तृतमा सोच्यो। त्यो कन्सेप्टलाई कथा बनाउन सकिने रहेछ भने स्क्रिप्टको लागि समय छुट्याएर बस्नु पर्छ।
अब आउदै गरेको फिल्म वीर्य दान गर्ने कथासँग सम्बन्धित छ, यो कथाको सोच कसरी आयो?
सायद मेरो बुवाले नेपालमा पहिलोपटक आईभीएफ लिएर आएको हुनाले यो सोच आएको हुन सक्छ। अर्को कुरा चाहिं नेपालमा यो शब्द बोल्न, यो विषयमा कुराकानी गर्न अफ्ट्यारो लाग्छ। तर यो अफ्ट्यारो मान्नुपर्ने विषय भने होइन। निसन्तान मान्छेहरुले वीर्य दान लिएर बच्चा जन्माउदा उनीहरुको खुसीलाई हेरौं। यो सामान्य कुरा हो तर नेपालमा यो विषयमा बोल्नलाई लाज मान्ने गरिन्छ। त्यसैलाई मैले सामान्य कथाको हिसाबमा लेख्ने सोच आयो। वीर्य दानको कथा एउटा सानो पार्ट मात्रै हो त्यो भन्दा बाहेक पनि विविध कथा फिल्ममा छ।
तपाईं प्राय: बेलायत बस्नु हुन्छ, अहिले फिल्मको लागि मात्रै यतै हुनुहुन्छ की कसो?
नेपालमा मेरो एउटा सानो च्यारिटी छ, त्यसको लागि म नियमित रुपमा नेपाल आइरहन्थे। अहिले फिल्मको लागि यतै छु तर पनि आफु जन्मेको ठाउँ, हुर्केको ठाउँ, बुवाआमा यतै हुनुहुन्छ। यसै पनि वर्षको दुईतिन पल्ट आईरहेको हुन्थें तर अहिले फिल्मले गर्दा अलि धेरै समय यतै बिताइरहेको छु।
तपाईं आफू चाहिं व्यक्तिगत रुपमा कस्तो फिल्महरु हेर्न मन पराउनु हुन्छ?
मलाई सामान्य कमेडी र सामाजिक मुद्दाहरुमा बनेको फिल्म मन पर्छ। संगै मलाई सस्पेन्स थ्रीलर र एक्सन फिल्म पनि मन पर्छ। तर मैले नियमित पाँच वटा फिल्म हेर्नुपर्यो भने एक्सन हेर्न सक्दिनँ। रोमान्टिक, कमेडी र सामाजिक मुद्दाहरुमा बनेको फिल्म भने हेर्न सक्छु।
बेलायतमा हुँदा उताकै कलाकारलाई लिएर सर्ट फिल्महरु बनाउनु भयो, यता नेपालका कलाकार र उताका कलाकार को संग काम गर्दा सजिलो लाग्यो?
उताको काम गराई एकदमै फिक्सड जस्तो हुन्छ, यता नेपालमा अलिक फरक हुन्छ। यता सुरुवात गर्न ढिला हुन्छ तर यति आज सकौं भन्ने हो भने मिलेर सकिन्छ। उता बेलायतमा भने समय सकिए पछि सकियो। मलाई दुवैतिरको काममा सकारात्मक र नकारात्मक दुवै पक्ष छ जस्तो लाग्छ।
फिल्म निर्माण र डाक्टरी दुईटा फरक क्षेत्र हो, दुवै क्षेत्रमा संगसंगै काम गर्दै हुनुहुन्छ, कुन चाँही क्षेत्र सजिलो लाग्यो?
यो एकदमै अफ्ट्यारो प्रश्न हो। म डेन्टलको क्षेत्रमा योग्य भएर पास भएकै तिस वर्ष भइसक्यो। मैले तिस वर्ष रमाइलो मानेर काम गरें। अहिलेको समयमा म फिल्म निर्माणमा निकै रमाइलो मानिरहेको छु। त्यो समयमा म डाक्टरको रुपमा इन्जोय गर्थें भने अब आउने दिनहरुमा निर्देशकको रुपमा, फिल्म मेकरको रुपमा इन्जोय गर्छु।
यसको मतलव तपाईंको निर्देशनमा या लेखनमा अन्य फिल्महरु पनि आउनेछन्?
हो, आउछन्। अहिले दुई तीन वटा फिल्मको स्क्रिप्टमा काम गर्दै छु। अहिले आइरहेको फिल्म ह्यारी की प्यारी पनि नेपालीसंगै पाँच वटा भाषा (नेपाली, हिन्दी, पंजावी, बंगाली र मराठी) मा आउँदै छ। अरु फिल्ममा पनि काम भइरहेको छ।
दर्शकहरुलाई के भन्न चाहनु हुन्छ? ह्यारी की प्यारी किन हेर्ने
मैले एकदमै राम्रो स्टोरीबेसमा राम्रो फिल्म बनाउने प्रयास गरेको छु। त्यसकारण जितु नेपाल, साम्रागी र बिजय बराल जस्तो फरकफरक जनराका पात्रहरु लिएर फिल्म बनाएको छु। यसको कथा नै सबैभन्दा राम्रो, नेपाली र नेपाली कथालाई बनाएको छु। आएर हेर्दिनु होला।