काठमाडौं- वर्षेनी हजारौं नेपाली नर्सहरु पढाइ सकाएर कामको खोजीमा नेपाल छाड्ने गरेका छन्।नेपालमा नर्सहरुले न्यून पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता, काम नै नपाइने समस्या धेरै छ।
देशमा पर्याप्त अवसर नहुँदा रोजगारी र थप अध्ययन गर्ने सोच भएका नेपाली नर्सहरुको रोजाइमा अमेरिका, अस्ट्रेलिया, बेलायत लगायतका विकसित मुलुकहरु पर्थे।
तर पछिल्लो केहि वर्षयता युएई, साउदी अरबिया जस्ता देशहरु पनि नेपाली नर्सहरुको रोजाइमा पर्ने गरेको देखिन्छ।
झापा बिर्तामोडकी सुचित्रा राजवंशीले पनि काम गर्नको लागि साउदी अरब जाने निधो गरिन्। वीरगञ्ज नर्सिङ क्याम्पसबाट पिसिएल नर्सिङ पढेकी उनीसँग एक वर्ष गण्डकी मेडिकल कलेजमा र एक वर्ष बिर्ता सिटी अस्पतालमा काम गरेको अनुभव थियो।
नेपालमै बसेर न्यून पारिश्रमिकमा काम गर्दा उनलाई आफ्नै खर्च धान्न मुस्किल थियो। अमेरिका, अस्ट्रेलिया बेलायत लगायत जस्ता विकसित मुलुकहरु जाने आर्थिक अवस्था पनि उनीसंग थिएन्। त्यसकारण उनी साउदी गइन्।
दुई वर्षअघि साउदी पुग्दा उनको मनमा डर थियो। अरबियन देश र उक्त देशसम्बन्धी सुनेका भ्रमहरुले उनलाई चिन्ता लागेको थियो। तर त्यहाँ जाने बित्तिकै जेद्दा नेशनल अस्पतालमा काम गर्न सुरु गरिन्। सुरुवातका केही दिन उनलाई भाषाको समस्या भयो। विस्तारै भाषासँगै उनलाई त्यहाँको वातावारण पनि सहज लाग्न थाल्यो।
साउदी विशेष गरेर महिलाहरुको लागि सुरक्षित देश रहेको उनले महसुस गरिन्। 'हामी नेपालमा हरेक दिन महिलाहरुलाई केहि न केहि भएको सुनिरहेका हुन्छौँ तर त्यहाँ त्यस्तो केहि हुँदैन। त्यहाँ महिलाहरु निकै सुरक्षित् हुने रहेछन्,' उनी भन्छिन्। हाल उनी साउदी अरबियाको रजिस्टर नर्स हुन्।
नेपालको तुलनामा साउदीमा काम गर्न पनि निकै सहज वातावारण हुने सुचित्राको भनाइ छ। नेपालमा कागजमा हुने कामहरु साउदीमा सबै डिजिटलाइज्ड हुने उनले बताइन्। त्यसैगरी काम सिकाउने कुरामा पनि साउदीमा हरेक नर्सलाई एक-एक गरेर राम्रोसँग बुझाउने, सिकाउने गरेको उनि बताउछिन्। उनी भन्छिन्, 'यहाँ काम गर्दै सिक्ने भन्ने खाले मानसिकता हुन्छ, त्यहाँ चाहिं हरेक मान्छेलाई एक एक गरेर सिकाइन्छ। यहाँ क्वानटिटी मात्रै हेरिन्छ भने त्यहाँ क्वालिटी पनि हेरिन्छ।'
प्रविधिको हिसाबले पनि नेपाल भन्दा साउदी अगाडि भएकाले प्रविधिक पाटोमा पनि धेरै सिक्न सकिने उनको बुझाई छ। 'नेपालमा हातले गरिने कुराहरु त्यहाँ टेक्नोलोजीको सहयोगमा गरिन्छ। त्यस्तै, त्यहाँ फरकफरक देशका नर्स/ डाक्टरहरु आउने हुनाले पनि उनीहरुको अनुभव आफूले लिन सकिन्छ र आफूले जानेको पनि सिकाउने अवसर पाइन्छ,' उनले भनिन्।
नेपालमै नर्सहरुको लागि राम्रो सेवा सुविधा हुने हो भने विदेशिने दिन नआउने उनको भनाइ छ। उनी भन्छिन्, 'कमाई राम्रो हुने हो भने त आफ्नो देश किन छाड्नु मन लाग्थ्यो। नर्सहरुको पारिश्रमिक राम्रो हुने हो भने बाहिर जाने अवस्था नै आउदैन्। हामी धेरै खर्च गरेर नर्सिङ पढ्छौँ। पढाई सकेपछि सरकारी अस्पतालमा काम पाउनै गार्हो छ पाए पनि सेवा सुविधा र स्तरवृद्धिको समस्या छ। निजीमा न्यून पारिश्रमिकमा काम गर्नुपर्छ।'
तर बाहिर देशको कमाइले एक्लैले पनि आफ्नो परिवार पाल्न सक्ने उनको भनाइ छ। दुई वर्षअघि साउदी गएर नर्सिङ पेशामा काम गरिरहेकी उनी हाल नेपालमा छिन् र फेरि साउदी नै जाने तयारी गरिरहेकी छिन्।
सुचित्रा जस्तै संखुवासभाकी सपना विश्वकर्माले पनि विराटनगर नर्सिङ क्याम्पसबाट पिसिएल नर्सिङको पढाइ सकाइन्। पिसिएलपछि विराटनगरकै न्युरो अस्पतालमा एक वर्ष काम गर्ने अवसर पनि पाइन्। त्यसपछि केहि महिनाको लागि संखुवासभामै स्कुल नर्सको रुपमा पनि काम गरिन्। मध्यम वर्गीय परिवारमा जन्मिएकी उनलाई पनि युरोपियन या अन्य विकसित मानिने देशहरु जाने रहर थियो। तर घरको आर्थिक अवस्थाको कारणले त्यी देशहरु उनको रोजाइमा पर्न सकेन्।
उनले सामाजिक सञ्जालको माध्यमबाट मनास्लु इन्टरनेसनल सर्भिसले नर्सहरुलाई साउदी अरबियाको अस्पतालहरुमा पठाइरहेको थाहा पाएकी थिइन्। त्यसपछि उनले साउदी जाने की भन्नेबारे सोच्न थालिन् तर परिवारलाई भने खुलेर कुरा गर्न सकिनन्।
'अझै पनि हाम्रो समाजमा अरबीयन देशहरु जाने भनेपछि सामान्य रुपमा लिने चलन छैन त्यसकारण पनि भन्न असहज लाग्यो, तर नर्सिङ पेशाकै लागि जाने भएपछि परिवारबाट पनि साथ पाएँ,' उनले भनिन्।
सुचित्रालाई जस्तै सपना पनि सुरुवातमा भाषाको समस्या भए पनि कामको र सुरक्षाको हिसाबले आफू सन्तुष्ट भएको बताउछिन्।
नेपालमा दैनिक जीवनयापन गर्न पुग्ने पनि नपुग्ने तलबमा काम गर्नुभन्दा सुरक्षित भएर अन्य देशमा काम गर्दा आर्थिक अवस्था पनि सुध्रिने र नयाँ कुरा सिक्न पाइने उनको बुझाई छ। उनी भन्छिन्, 'नेपालमा यतिका खर्च गरेर पढेपछि कमाई नभएपछि के गर्नु? कत्ति खर्च गरेर पढेका हुन्छौं। तलब चाहिं जम्मा ९/१० हजार भन्दा हुँदैन। अन्य सेवा सुविधा पनि केहि हुँदैन। त्यही माथि सम्मान पनि छैन।'
नेपाल सरकारले नर्सहरुले कसरी काम गरिरहेका छन्, किन बाहिर गइरहेका छन् भन्ने कुरामा चासो नदिएको उनको गुनासो छ। नर्सहरुलाई आवश्यक सेवा सुविधा दिने हो भने देश छाडेर अन्त नजाने उनको भनाई छ। मनास्लु इन्टरनेशनल सर्भिसले हाल नर्सहरुलाई फ्री भिजा फ्री टिकटमा साउदी अरबिया पठाइरहेको छ।