विश्वकपको सिजनमा तपाईं हामीमध्ये धेरै जना मध्यरातमा पनि निद्राको परवाह नगरी फुटबल हेरिरहेका हुन्छौँ। यतिबेला मानिसहरू विभिन्न देश तथा खेलाडीको समर्थनमा खुलेर जर्सीसमेत लगाइरहेका छन्।
खेलकुद स्वास्थ्यका दृष्टिकोणले एकदमै फाइदाजनक पनि मानिन्छ। नियमित खेलकुदले शारीरिक तन्दुरुस्ती, बलियो मांसपेशी र स्वस्थ मुटु बनाउनुका साथै मानसिक तनाव पनि कम गर्न सहयोग पुर्याउँछ। रोग प्रतिरोधी क्षमता बढाउन तथा आत्मबल बढाउन पनि खेलकुद महत्त्वपूर्ण मानिन्छ।
विगत ७ वर्षदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा. दिपेश पौडेल हाल आईसीयू विभागमा कार्यरत छन्।
विश्वकपमा उनी आफूले फुटबल बुझेदेखिन नै अर्जेन्टिनाका समर्थक हुन्। घरमा भएको समयमा टीभीमा नै विश्वकप हेर्ने गरेका उनी रातिको ड्युटीमा हुँदा भने मोबाइलमा समय मिलाएर गेम हेर्छन्।
‘अर्जेन्टिनाको समर्थक भए पनि सबै गेम हेर्ने गरेको छु,’ उनले भने, ‘आईसीयूमा काम गरिरहेको समयमा बिरामीलाई पहिलो प्राथमिकता दिनुपर्छ। त्यही भएर बिरामीलाई हेरेर समय मिलाएपछि मोबाइलबाट विश्वकपका खेल हेर्छु।’
उनी फुटबल खेल्नमा सौखिन भएकाले पहिलेदेखि नै राम्रैसँग फुटबल खेल्ने गर्थे। तराईको बारा कलैयामा जन्मे-हुर्केका उनी गर्मीमा पनि फुटबल खेल्थे। प्रचण्ड गर्मीमा पनि स्कुलको समय सकिएपछि उनी फुटबल ग्राउन्डमा पुग्थे।
फुटबल खेल्दा सानोतिनो चोटपटक धेरै पटक लागेको उनलाई याद छ। एक पटक भने २-३ महिना नै आराम गर्नुपर्ने गरी चोट लागेको उनी बताउँछन्। एउटै छोरो भएकाले फुटबल खेल्दा चोटपटक लाग्न सक्छ भनेर उनका बुबाआमा डराउँथे, तर उनी भने घरमा नभनी भागेर पनि फुटबल खेल्न जाने गर्थे।
विश्वकप मात्र नभई अधिकांश फुटबलसम्बन्धी गेमहरू उनी अन्य समयमा पनि हेर्ने गर्छन्। आफू पुरानै पुस्ताको भए पनि युवा खेलाडीका गेमहरू हेर्न उनी रुचाउँछन्।
यस पटकको विश्वकप सुरु हुनुभन्दा ३ दिनअगाडि नै भाटभटेनी गएर उनले अर्जेन्टिनाको जर्सी किनेर ल्याएका थिए।
यस पटक पनि अर्जेन्टिनाले विश्वकप नजिते त्यसले आफूलाई दुःखी बनाउने उनी बताउँछन्। यद्यपि, यस पटक अर्जेन्टिनाले विश्वकप जित्नेमा उनी ढुक्क छन्। अर्जेन्टिनामा टिम वर्क राम्रो भएकाले पनि यस पटक जित्ने उनको दाबी छ।